नेकपा (माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रले कर्मकाण्ड पूरा गर्न मात्र महाधिवेशन आयोजना नगरिएको बताएका छन्। पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बाेधन गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो पार्टीले राजनीतिक दलसम्बन्धी ऐनको औपचारिकता मात्र पूरा गर्न वा संगठनात्मक कर्मकाण्ड पूरा गर्न यो आठौँ राष्ट्रिय महाधिवेशन गरेका होइनौँ।’ देश र जनताको अहिलेको आवश्यकता उत्पीडित वर्ग, जाति, क्षेत्र,लिंग, भाषिक सांस्कृतिक समुदाय सिमान्तकृत समुदाय, आमजनता र नेपाली कम्युनिस्ट आन्दोलनको आवश्यकतालाई सम्बाेधन गर्नका लागि माओवादी केन्द्रले महाधिवेशन आयोजना गरेको श्रेष्ठले बताए।
‘आमजनताको अपेक्षा र आवश्यकता, नेपाली कम्युनिस्ट आन्दतेलन र नेपाली क्रान्तिकारी आन्दोलनको आवश्यकतालाई सम्बोधन गर्ने गरी भूमिका निर्वाह गर्ने तयारीको रूपमा यो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गइरहेका छौँ,’ श्रेष्ठले भने, ‘आन्तरिक राष्ट्रियता सुदृृढ गर्न र त्यसको बलमा नेपालको राष्ट्रियतालाई सुदृढ गर्नु आवश्यक छ। जुन हाम्रो पहिलो कार्यभार हो।’
वर्तमान संविधानको रक्षा गर्दै त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने र समयानुकूल परिमार्जन र विकास गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता भएको उनको भनाइ थियो।