नेपाली पुरुष भलिबल टोलीले शुक्रबार एसियन सिनियर सेन्ट्रल भलिबल प्रतियोगिता साविक उपविजेता उज्वेकिस्तानमाथि ३–१ को सानदार जित निकालेको छ । प्रतियोगितामा नेपाली पुरुष टोलीले पहिलो जित हात पारेको हो । यसअघि नेपाल आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । नेपाली खेलाडीले उज्वेकिस्तानविरुद्ध उत्कृष्ट पुनरागमन गरेको हो । बंगलादेशको ढाका मिरपुरस्थित साहिद शुरवार्दी इन्डोर रंगशालामा उज्वेकिस्तानले पहिलो सेटमा नेपाललाई २५–१८ ले हराएको थियो ।
त्यसपछिका तीन सेटमा नेपाली खेलाडीले उज्वेकिस्तानलाई चल्नै दिएन । दोस्रो सेटमा नेपाल र उज्वेकिस्तानबीच कडा प्रतिस्पर्धा भयो । नेपालले यस सेटमा उज्वेकिस्तानलाई चार अंकमा रोक्दै २५–२१ ले जित्यो । दोस्रो सेट तुलनामा तेस्रो सेटमा नेपाल बलियो देखियो । नेपालले तेस्रो सेट २५–१८ ले जित्दै २–१ को अग्रता लियो ।
खेलमा टिकिरहन उज्वेकिस्तानले चौथो सेट जित्नु नै पर्ने थियो । नेपालले प्रतियोगितामा पहिलो जित हात पार्न चौथो सेट जित्नुपर्ने थियो । नेपालले प्रतिस्पर्धात्मक चौथो सेटमा २५–२३ को जित निकाल्न सफल भयो । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ ।
यसैगरी महिलातर्फ नेपालले लगातार दोस्रो जित निकाल्यो । नेपाली महिला टोलीले आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पाखा लगायो । महिलातर्फको साविक विजेतासमेत रहेको नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को कठिन जित हात पारेको थियो । नेपालले माल्दिभ्सलाई २५–११, २५–९ र २५–५ ले पाखा लगायो । माल्दिभ्सले कुनै पनि सेटमा नेपाललाई चुनौती दिन सकेन ।
लगातार दोस्रो जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । नेपालको दुई खेलबाट पाँच अंक जोडेको छ । महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।