प्रधानमन्त्री देउवालाई गुजरातमा मोदीको निम्ता

शनिबार, १० पुष, २०७८
डिजिटल संस्करण

भारतले आयोजना गर्न लागेको भाइब्रेन्ट ग्लोबल गुजरात समिटमा सहभागिताका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक च्यानलमार्फत समकक्षी देउवालाई निमन्त्रणा पठाएका हुन् । 

कार्यक्रममा सहभागी हुने विषयमा देउवाबाट ठोस निर्णय भइनसकेको उनीनिकट स्रोतहरूले बताएका छन् । परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासले भने भ्रमणका लागि आधारभूत तयारी थालेका छन् । ‘प्रधानमन्त्रीको भ्रमण तय भएको छैन, तर उहाँ जान सक्ने अवस्थालाई मध्यनजर गरेर तयारी गरिएको छ,’ परराष्ट्र स्रोतले भन्यो । प्रधानमन्त्री देउवा जाने निश्चित भएमा उनको भ्रमण २५ पुसमा गराउने तयारी छ । 

भारत सरकारले पनि ओमिक्रोन भाइरसका कारण शीर्ष नेताहरूको भौतिक उपस्थिति हुन सक्ने–नसक्ने समीक्षा गरिरहेको छ । भारतीय कूटनीतिक स्रोतले भन्यो, ‘प्रधानमन्त्री देउवालाई निमन्त्रणा पठाइएको छ । नेपाल सरकारले उहाँको सहभागिताका विषयमा ठोस जवाफ पठाइसकेको छैन । हामी पनि कोरोना परिस्थितिको बारेमा विज्ञहरूमार्फत समीक्षा गरिरहेका छौँ ।’ 

स्रोतका अनुसार देउवाले औपचारिक भ्रमण गर्न चाहे पनि भारतले कार्यक्रमका अवसरमा निमन्त्रणा दिएको हो । कार्यक्रममा देउवा उपस्थित भए मोदीसँग भेटवार्ता हुनेछ । द्विपक्षीय विषयमा विस्तृत छलफल नभई भेट शिष्टाचारमा सीमित रहनेछ । देउवा पछिल्लोपटक प्रधानमन्त्री भएपछि उनी र मोदीबीच स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता भएको थियो । प्रधानमन्त्री भएपछि देउवाको अहिलेसम्म औपचारिक भारत भ्रमण भएको छैन । उनी प्रधानमन्त्री भएपछि कांग्रेसका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशरण महत नेतृत्वमा प्रतिनिधिमण्डल भारत भ्रमणमा गएको छ भने भारतबाट भाजपा विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले नेपालको औपचारिक भ्रमण गरेका छन् । 

मोदीले समिटमा सहभागी हुन पाकिस्तानबाहेक सार्कका सबै सदस्य मुलुकका कार्यकारी प्रमुखलाई निमन्त्रणा पठाएका छन् । कार्यक्रम हुन लागेको गुजरात मोदीकै गृहजिल्ला हो । गुजरातको गान्धीनगरस्थित महात्मा मन्दिर सम्मेलन केन्द्रमा २६ पुसमा भारतीय प्रधानमन्त्री मोदीले कार्यक्रमको उद्घाटन गर्ने तय भएको आयोजकले वेबसाइटमा उल्लेख गरेको छ । तीनदिने कार्यक्रममा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, व्यापारिक समूहका प्रमुखलगायत सहभागी हुने आयोजकले जनाएको छ ।

भौतिक उपस्थिति हुन नसके मोदीले निम्ता गरेका विदेशी कार्यकारी प्रमुखहरूबाट भर्चुअल माध्यममार्फत सहभागिता र सम्बोधन गराउने तयारी पनि अघि बढेको भारतीय स्रोतले जानकारी दिएको छ । यो कार्यक्रम पहिलोपटक सन् २००३ मा मोदी गुजरातको मुख्यमन्त्री हुँदा आयोजना भएको थियो । यसपटक कार्यक्रमको मुख्य विषय ‘आत्मनिर्भर गुजरातदेखि आत्मनिर्भर भारत’ राखिएको छ । यो कार्यक्रमको दशौँ संस्करण भएको आयोजकले जनाएको छ । 

See More On

सुझावित समाचार