स्थायी कमिटीमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेस

शुक्रबार, ९ पुष, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेस गरेका छन्। शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि पेस गरेका हुन्।

माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ। सोही सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष प्रचण्डले आज बिहान बसेको स्थायी कमिटी बैठकमा पेस गरेका पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।  उनका अनुसार सो प्रतिवेदनमाथि छलफल गर्न अपराह्न ३ बजेपछि बैठक पुनः बोलाइएको छ।

‘पर्सिदेखि सम्मेलन सुरु हुँदै छ, तपाईंहरूलाई थाहा छ। अध्यक्ष कमरेडले डकुमेन्ट प्रस्तुत गर्नुभयो। प्रस्तुत मात्रै भएको छ, वाचन गर्नुभयो र त्यसमा हामी छलफल गर्ने क्रममा छौँ। त्यसका लागि ३ बजे फेरि बैठक बस्दै छ,’ महराले भने।

बैठकले नेकपा (मसाल)सँग विद्रोह गरी बनेको नेकपा (मसाल) सम्पर्क केन्द्र र प्रभात चलाउने नेतृत्वको नेकपाको सिंगो टिमसँग पार्टीमा एकीकरण गर्ने निर्णय पनि गरेको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ।

सुझावित समाचार