१४औँ महाधिवेशनअन्तर्गत कांग्रेसका नौ महिला केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार महिला (खुला) तर्फको मतपरिणामबाट उनीहरू निर्वाचित भएका हुन् ।
मतपरिणामअनुसार डिला संग्रौला (२,८८५), पुष्पा भुसाल (२,७१८), आरजु राणा (२,५३६), अम्बिका बस्नेत (२,३३९), ईश्वरी न्यौपाने (२,२५९), सरिता प्रसाईं (२,०९६), रमा कोइराला पौडेल (१,८५८), सुशीला ढकाल आचार्य (१,८०४) र रंगमती शाही (१,७८९) मत ल्याएर निर्वाचित भएका हुन् । प्रसाईंबाहेक अरू सबै सभापति शेरबहादुर देउवा समूहका हुन् ।
यससँगै कांग्रेस कार्यसमितिमा पुग्ने महिलाको संख्या ११ पुगेको छ । यसअघि १३ सदस्यीय पदाधिकारीमा एक मात्र महिला पदाधिकारीको रूपमा सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) विजयी भएकी थिइन् । त्यस्तै, प्रदेश २ महिला कोटाबाट चित्रलेखा यादव निर्वाचित बनेकी थिइन् ।
अल्पसंख्यकमा सुनुवार निर्वाचित
कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य अल्पसंख्यक (खुला) एक पदमा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । सुनुवार दुई हजार एक सय ७१ मतका साथ निर्वाचित भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनी देउवा पक्षका हुन् । उनका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले एक हजार २३ मत प्राप्त गरे । सोही पदमा रहेका अन्य उम्मेदवार हरिबहादुर घलेले ६ सय नौ, ओमप्रकाश शर्मा (मारवाडी) ले पाँच सय ३६ र प्रेमबहादुर छन्त्यालले दुई सय ६ मत प्राप्त गरेका छन् । मतदानमा चार हजार ६ सय ३५ मत खसेकामा ९० मत बदर भएको थियो ।
अपांगता भएकातर्फ श्रेष्ठ विजयी
केन्द्रीय सदस्य अपांगताभएका (खुला) तर्फ मदनकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनी एक हजार ६ सय ४० मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी बाबुकृष्ण सापकोटाले आठ सय ८७ मत मात्र ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ । अपांगता भएकातर्फ एक सदस्यका लागि १२ प्रतिस्पर्धी थिए ।