माओवादी केन्द्रको प्रदेश १ अध्यक्षमा खोटाङका दुई नेताको दाबी

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) खोटाङका दुई नेताले १ नं. प्रदेश समितिको अध्यक्षमा दाबी गरेका छन्। सहमतिमा पदाधिकारी टुंग्याउन पटकपटक प्रयास गर्दा पनि झनै अध्यक्ष पदको आकांक्षी बढेकाले समस्या निम्तिएको भन्दै तत्काल समस्या समाधान गर्नुपर्ने मागसहित खोटाङका नेताद्वय ध्रुव बुढाथोकी ‘धीरन’ र देवान किराँती ‘पृथ्वी’ले अध्यक्षमा दाबी गरेका हुन्।  

विराटनगरमा दुई दिनसम्म चलेको प्रदेश अधिवेशनले अध्यक्षसहित पदाधिकारी टुंगो लगाउन नसकेपछि पुस–७ गतेका लागि बैठक सारिएको छ। गत मंसिर–२५ र २६ गते भएको प्रदेश अधिवेशनले पदाधिकारी छिनोफानो गर्न नसकेको भन्दै उनीहरू दुवैजनाले आफू अध्यक्षको लागि योग्य रहेको दाबी गरेका हुन्।

केन्द्रीय सदस्य सुरेशकुमार राई ‘हिमाल’, इन्द्र आङ्बुहाङ र प्रदेश सचिव हेमराज भण्डारीले अध्यक्षको दाबी छाडेपछि आफूले अध्यक्षमा दाबी गरेको खोटाङ सह–इन्चार्ज धीरनले बताए। ‘मैले पार्टीको भूमिगत कालमा बिग्रेट कमान्डर तथा शान्तिपूर्ण राजनीतिपछि पोटिब्युरो सदस्यको भूमिकासमेत निर्वाह गरिसकेको छ,’ उनले भने, ‘अनुभवको आधारमा पार्टीको प्रदेश अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गर्न सक्ने हैसियत आफूसँग भएकाले दाबी गरेको हुँ।’

सुनसरीका शिव डाँगी, पाँचथरका मौसम लिम्बूलगायतले दाबी गर्दा आफूले पनि अध्यक्ष पदको दाबी नछाडेको पार्टी जिल्ला समन्वय समिति खोटाङका संयोजक पृथ्वीले बताए। ‘सहमति गर्न पोलिटब्युरो सदस्य अजम्बर काम्बाङको संयोजकत्वमा चारसदस्यीय समिति बनेको छ,’ उनले भने, ‘पुस ७ गते बोलाइएको विवाद समाधान समितिको बैठकले सबै विवाद टुंग्याउँछ।’

पोलिटब्युरो सदस्य काम्बाङको संयोजकत्वमा गठन गरिएको विवाद समाधान समितिमा हिमाल, आङ्बोहाङ र हेमराज भण्डारी रहेका छन्। माओवादी केन्द्रको प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहित नौ पदाधिकारी रहने व्यवस्था छ। २६९ सदस्यीय समिति रहने माओवादी केन्द्रको प्रदेश समितिमा निर्वाचित सदस्यले पदाधिकारी चयन गर्ने व्यवस्था छ। 
 

सुझावित समाचार