पाँच प्रतिस्पर्धीलाई उछिन्दै देउवा समूहका खड्का र कोइराला खेमाका गुरुङ निर्वाचित

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

कांग्रेसमा दुई उपसभापतिका लागि भएको निर्वाचनमा मिश्रित नतिजा आएको छ । सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र  शेखर कोइराला प्यानलका धनराज गुरुङ विजयी भएका छन् । 

सात प्रतिस्पर्धीमा खड्काले सबैभन्दा धेरै २१ सय २१ मत ल्याएका छन् । गुरुङले १९ सय ८ मत पाएका छन् । खड्काले ल्याएको मत पहिलो चरणमा देउवाले ल्याएको भन्दा १३७ ले कम हो । देउवाले पहिलो चरणमा २२ सय ५८ मत ल्याएका थिए । तर, गुरुङको मत भने पहिलो चरणमा कोइरालाले ल्याएको भन्दा २०६ ले बढी हो । कोइरालाले १७ सय २ मत पाएका थिए । 

उपसभापतिमा देउवा प्यानलकै विजय गच्छदार २ मतले मात्रै गुरुङसँग पराजित भएका छन् । गच्छदारले १९ सय ६ मत पाएका छन् । सभापतिबाहेकका पदमा प्रतिस्पर्धीबीच धेरै मत ल्याउने उम्मेदवार विजयी हुने व्यवस्था कांग्रेस विधानमा छ । कोइराला प्यानलका चन्द्र भण्डारीले १५ सय ८० मत पाएका छन् । त्यस्तै, प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएकी सुजाता कोइरालाले ६४४, स्वतन्त्र उम्मेदवार महेश आचार्यले ५८९ र विमलेन्द्र निधि प्यानलकी दिव्येश्वरी शाहले १३२ मत ल्याएको निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए । 

कूल ४७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये उपसभापतिका लागि ४६ सय ७३ ले मतदान गरेका थिए । त्यसमध्ये ५५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । बुधबार दिउँसो साढे ६ बजेदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको मतगणनाको नतिजा राति २ बजे सार्वजनिक गरिएको थियो । 

सभापतिबाहेक सबै पदको मतगणना पार्टी कार्यालयमै गरिँदै छ । सबै पदका लागि सोमबार मतदान भएकोमा सभापतिमा भने कुनै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि मंगलबार पुनः मतदान भएको थियो । जसको नतिजा मंगलबार नै आइसकेको छ । 

बिहीबार महामन्त्रीको मतगणना
दुई महामन्त्री चयनका लागि बिहीबार मतगणना हुँदै छ । प्रतिस्पर्धामा ६ उम्मेदवार छन् । शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार छन् । शेखर कोइराला प्यानलबाट मीनेन्द्र रिजाल र गगन थापा छन् । त्यस्तै, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको प्यानलबाट राजाराम कार्की छन् । महामन्त्रीको सकिएपछि सहमहामन्त्री र सदस्यहरूको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

सुझावित समाचार