पहिलो चरणको मतपरिणामले कांग्रेसको भावी सभापति दिन नसकेपछि निर्वाचन समितिले मंगलबार दिउँसो ३:३० का लागि पुनः मतदान तोक्यो । त्यसअघि नै भृकुटीमण्डप उम्मेदवारका समर्थकले भरिभराउ भइसकेको थियो । नयाँ पत्रिका टिम साढे २ बजेतिर भृकुटीमण्डप पुग्दा शेरबहादुर देउवा र शेखर कोइरालाका समर्थक आ–आफ्नो उम्मेदवारका पक्षमा नारा लगाइरहेका थिए । कोइरालाका समर्थकले ‘शेरबहादुरलाई सम्मान, शेखरलाई मतदान’, ‘देउवालाई पटक–पटक, शेखर दाइलाई एकपटक’ जस्ता नारा लगाइरहेको सुनिन्थ्यो । आरआर क्याम्पसअगाडि कोइरालाको समथर्नमा नाराबाजी भइरहेको थियो । ल क्याम्पसअगाडि शेरबहादुर देउवको पक्षमा नाराबाजी भइरहेको थियो ।
महाधिवेशनका अघिल्ला दिनहरूमा विभिन्न उम्मेदवारहरूका समर्थकहरूको सानो–सानो आकारमा नाराबाजी गरिरहेका देखिन्थे । तर, मंगलबारको माहोल अघिल्ला दिनहरूभन्दा फरक थियो । आइतबार र सोमबारको तुलनामा मंगलबार देउवा र शेखर दुवैका छुट्टाछुट्टै समर्थनमा निस्किएका ¥याली तथा नाराबाजीका आकार ठूला थिए । मंगलबार न बाजागाजा देखिन्थ्यो न त कुनै सांस्कृतिक झाँकी । अघिल्ला दिनका तुलनामा प्रचार सामग्रीहरूको प्रयोग पनि निकै कम भएको देखिन्थ्यो । तर, अरू दिनजस्तो उम्मेदवारका समर्थनमा प्रचारबाजी गर्नेहरूको अनुहार जति हँसिलो र धैर्य देखिन्थ्यो, मंगलबारको नाराबाजी त्योभन्दा ज्यादै फरक थियो ।
टुकुचादेखि राष्ट्रिय सभागृहसम्म पुग्दा नाराबाजीमा स्पष्ट दुई पक्ष छन् भन्ने सजिलै बुझिन्थ्यो । सडकका दुवै किनारमा महाधिवेशन प्रतिनिधि र कांग्रेस कार्यकर्ताहरू समूह–समूहमा बाँडिएर गफ गरिरहेका देखिन्थे । देउवाको फोटो घाँटीमा झुन्ड्याएर हिँड्नेहरू केही हर्षित भावमा थिए । कोइरालाको समर्थनमा नाराबाजी गर्नेहरू अली हतास देखिन्थे ।
सिंह र निधिको ‘मुभ’ : कसैलाई अपेक्षित, कसैलाई अनपेक्षित
सातै प्रदेशको मतदान केन्द्र राष्ट्रिय सभागृहमा थियो । भृकुटीमण्डप गेटअगाडि पुग्दा राष्ट्रिय सभागृहको गेटबाट सुरु भएको महाधिवेशन प्रतिनिधिहरूको लाइन देखियो । प्रकाशमान र निधिको ‘मुभ’प्रति प्रतिक्रिया माग्दै हामीले सोध्यौँ, ‘अन्तिम समयमा एउटा एलायन्स हुनैपर्ने थियो । नेताहरू आन्तिरिक सहमतिका आधारमा निष्कर्षमा पुग्नुभो होला,’ लाइनमा बसेका कैलालीका प्रदीप जोशीले भने । पुस्तान्तरण र नयाँ नेतृत्वको गफ हाँक्ने नेताहरूले पलभरमै बोली फेरेको जस्तो लागेन ? दोस्रो प्रश्नमा जोशीले भने, ‘सभापतिमा युवा पुस्ताको आकांक्षी कोही पनि थिएन । महामन्त्री युवा पुस्ताबाट आउने वातावरण बनेको छ । पहिलो चरणमा देउवाजी नै पहिलो हुनुभयो । व्यावहारिक रूपमा नेताहरूले निर्णय गरेकोजस्तो देखिन्छ ।’
देउवालाई सघाउने प्रकाशमानको निर्णयबारे उदयपुरकी धना मगरले फरक प्रतिक्रिया दिइन् । ‘प्रकाशमानले गणेशमान सिंहको साख जोगाउनुभएन । एकदमै नराम्रो काम गर्नुभो उहाँले,’ ठेलमठेल लाइनमा उभिएकी धनाले भनिन् । लाइनमै उभिएकी ललितपुरकी गीता सत्यालले प्रकाशमान र निधिको निर्णयलाई सामान्य रूपमा लिएको बताइन् । ‘नेताहरूसँग आफ्नो निर्णय गर्ने अधिकार छ । नेताहरूको आफ्नो निर्णय हो । हामीले केही भन्ने कुरा आउँदैन । शेखर कोइरालाले मतदातालाई आफ्नो विवेक प्रयोग गर्न अपिल गर्नुभएको छ । सबै मतदातालाई आफ्नो विवेक प्रयोग गर्न भन्नुभएको छ । चाहे शेरबहादुर दाइको पक्षमा होस्, चाहे शेखर दाइको पक्षमा, दुवै दाइहरू हाम्रा लागि बराबर हुन् ।’ उनले यसो भन्दै गर्दा छेवैबाट शेखरको समर्थनमा नारा लगाउँदै र्याली आयो । ‘हल्ला भयो अब छाड्दिनुस्,’ उनले भनिन् ।
भिडभाड भृकुटीमण्डपभित्र पनि थियो । भिडकैबीचमा दक्षिण कोरियाबाट महाधिवेशन प्रतिनिधि बनेर आएकी ५० वर्षीया गंगा थापा श्रेष्ठ भेटिइन् । पछिल्लो एलायन्सलाई कसरी लिनुभएको छ ? हाम्रो जिज्ञासामा उनले भनिन्, ‘प्रकाशमान र निधिले गलत निर्णय गर्नुभो । उहाँहरू नै हो, नयाँ पुस्ता आउनुपर्छ भन्ने, तर अन्तिममा आएर यस्तो निर्णय गर्ने ? को हो त नयाँ पुस्ता ? शेरबहादुर दाइ ?’ आक्रोश र चिन्ताको भावमा उनले भनिन् । नेताहरूले जे निर्णय गरे पनि प्रतिनिधिहरूको हातमा सबै अधिकार भएकाले सकारात्मक नतिजा आउने उनले विश्वास व्यक्त गरिन् ।
नाराबाजी गर्नेहरूलाई सभागृहनजिक जान नदिन प्रहरीले अनुमानित १० मिटर उत्तरतर्फ ब्यारिकेड लगाएको थियो । कोइराला र देउवाको समर्थनमा सडकमा यता–उता गर्दै निरन्तर नारा लागिरहेका देखिन्थे । मतदान केन्द्र तोकिएको सभागृह गेटको दक्षिणतर्फ फुटपाथमा महिला र पुरुषको भिन्दाभिन्दै लाइन थियो । केही प्रतिनिधि नै आ–आफ्ना उम्मेदवारको पक्षमा नाराबाजी गरिरहेका थिए । ‘पैसाको कुरा नगर्नुस् । कसैले पैसा लिएको छैन, त्यस्ता कुरा नगर्नुस्’ भन्दै लाइनमा बसेकी एक महिला प्रतिनिधिले आफूभन्दा अगाडि रहेकी अर्की प्रतिनिधिसँग प्रतिवाद गर्दै थिइन् ।
गोलो बनाएर केही मानिस साझा प्रकाशनअगाडि उभिएका थिए । उनीहरूले आफूहरू कांग्रेसको शुभेच्छुक मात्र भएको बताए । उनीहरूले प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न शेखर कोइरालाले गरेको अपिलको कुनै प्रभाव नपर्ने दाबी गरे । ‘के काँ पर्नु हौ, डालो सबै घोप्टिएपछि के फरक पर्नु,’ मोरङ घर बताउने एकजनाले भने ।
नाराबाजीको बीचमा घरिघरि ‘शेरबहादुर दाइ जिन्दावाद’ र ‘शेखर दाइ जिन्दावाद’ एकैपटक सुनिन्थ्यो । समर्थकहरूले नाराबाजीसँगै लाइनमा बसेका प्रतिनिधिहरूसँग पनि हात जोड्दै भोट मागिरहेका देखिन्थे । भोट माग्नेहरूलाई कसैले ‘ढुक्क हुनुस्’ भनिरहेको सुनिन्थ्यो भने कसैले ‘आफ्नो आफ्नो च्वाइस हो’ भन्दै गरेको सुनिन्थ्यो । केही समर्थकले नारा लगाउँदै प्रतिनिधिहरूसँग कुरा गर्दै आफूले समर्थन गरेका उम्मेदवारको फोटो देखाउँदै भोट मागिरहेका थिए । यसैबीचमा शेखरको समर्थन गर्दै लागेको नाराबजीमा ‘डडेल्धुरा के भन्छ, शेखर दाइलाई ले भन्छ’ भन्ने नारा पनि सुनिएको थियो । विश्वभाषा क्याम्पसअगाडि केही युवा व्यंग्यात्मक शैलीमा ‘राजनीति त जात्रा पो र छ । हाहाहा...’ गर्दै एकसाथ हाँसिरहेका थिए ।
प्रतिनिधिहरूकै लाइनमा बसेकी उर्लाबारी मोरङबाट आएको बताउने बानु सुब्बाले भनिन्, ‘नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुप¥यो भन्ने हाम्रो माग हो । अन्तिम अवस्थामा आएर देउवालाई समर्थन गर्ने प्रकाशमान र निधिको निर्णयले पार्टीमा युवा विचलित हुने अवस्था आएको छ ।’
रुकुम (पश्चिम)का शिव आचार्यले ‘निधि र सिंहको सौदाबाजीले कांग्रेसलाई आगामी निर्वाचनमा वडातिर पनि भेट्न नसक्ने स्थिति आउने’ बताए । उनले अगाडि भने, ‘यो प्रचार गरेर केही हुँदैन । सबै प्रतिनिधि आ–आफ्नो नेताको अन्डरमा छन् ।’
निधि र सिंहको निर्णयबारे केही प्रतिक्रिया दिन मिल्छ ? ‘नेताहरूको निर्णयमा हामीले टिप्पणी गर्न मिल्दैन । कार्यकर्ताहरू पनि सबै चेतनशील हुनुहुन्छ । त्यसैले माहोल ‘फिप्टी–फिप्टी’ छ,’ पर्साबाट महाधिवेशन प्रतिनिधि आएकी किरण सरकारले भनिन् । माथिकै प्रश्नमा मुगुबाट आएका रंगे टमाटाले भने, ‘उनको चाख ज्या पख । हाम्मो त अब शेखर कोइरालै भन्दा हौ । आम्नो आम्नो विचार हुन्छ, आज उही आउने भया पनि आउने भया, बढ्ने भया पनि बढ्ने भया ।’ करिब ६ बज्दासमेत नाराबाजी रोकिएको थिएन । सडक किनारका बत्ती बलिसकेका थिए । देउवा र शेखर दुवैको पक्षमा नाराबाजी भइरहेको थियो । प्रतिनिधिहरू लाइनमै थिए । भिडभाड उस्तै थियो ।
आमनेसामने बसेर मागे देउवा र कोइरालाले भोट
दोस्रो चरणको निर्वाचन सुरु भएसँगै मतदानस्थल राष्ट्रिय सभागृहमा रोचक दृश्य देखिए । निर्वाचन सुरु भएलगत्तै सभापतिका दुई उम्मेदवार मतदानस्थलमा नै रहेर मत माग्न सुरु गरेका थिए । भोट माग्ने उनीहरू एक–अर्काको आमनेसामने बसेका थिए । मतदाताको लाइनछेउमै कुर्सीमा बसेका देउवा घरिघरि उठेर मतदातालाई हात जोड्दै मतका लागि आग्रह गरिरहेका देखिन्थे । सुरुमा एक्लै मत मागिरहेका देउवालाई पछि नेता सिंह र उपसभापति निधिसमेत उपस्थित भएपछि निकै हर्षित देखिन्थे ।
सामुन्नेतिर सभागृहभित्रको सडकछेउको पेटीमा उभिएका कोइराला चन्द्र भण्डारी, गगन थापालगायतसँग उभिएर मतदातालाई हात जोड्दै भोट मागिरहेका थिए । देउवा र कोइरालाले मतदान अवधिभर मतदानस्थलमै रहेर मत मागे । अघिल्लो दिनसम्म देउवाको विकल्प खोजिरहेका नेताहरू नै देउवाको पक्षमा मत मागिरहेको दृश्यले ‘राजनीतिमा असम्भव केही छैन’ भन्ने भनाइ पुष्टि गरिरहेको थियो ।