पहिलो चरणमा देउवालाई २२५८ र कोइरालालाई १७०२ मत

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

कांग्रेस सभापतिका लागि भएको निर्वाचनमा पाँच उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो ।मंगलबार बिहान सकिएको मतगणनामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले दुई हजार दुई सय ५८ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी डा.शेखर कोइरालाले एक हजार सात सय दुई मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी प्रकाशमान सिंहले तीन सय ७१, विमलेन्द्र निधिले दुई सय ५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा सभापतिमा चुनाव जित्न देउवालाई ८१ मत कम परेको थियो ।

देउवा, कोइराला, सिंह र निधि पदाधिकारीमा अन्य उम्मेदवारसहित प्रतिस्पर्धामा थिए भने गुरुङले एकल उम्मेदवारी दिएका थिए । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार सात सय ४३ मतदातामध्ये चार हजार ६ सय ७९ मतदाताले मतदान गरेका थिए । 

अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले मंगलबार सभापतिको मतगणना गरेपछि बुधबार एक दिन खाली बसेर बिहीबारदेखि उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना गर्ने भएको छ । कांग्रेस नयाँ नेतृत्वका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान भएको थियो । सोमबार राति मतदान सकिएलगत्तै मतपेटिका कांग्रेसको केन्द्रीय कार्यालय सानेपा लगिसकिएको छ । 

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार एक सय ६७ सदस्यीय कार्यसमितिमध्ये एक सय ३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

१०औँ महाधिवेशनमा गिरिजाप्रसादसँग प्रतिस्पर्धा
दशौँ महाधिवेशनमा कांग्रेस सभापतिका लागि देउवा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धामा उत्रिएका थिए । महाधिवेशनमा कोइराला, देउवासँगै रामहरि जोशी पनि सभापतिका प्रत्याशी भए । महाधिवेशनमा १४ सय ७७ मतदाता थिए । कोइराला नौ सय ३६ मतसहित सभापतिमा निर्वाचित भए । देउवाले पाँच सय सात र जोशीले १० मत मात्र पाए ।

११औँ महाधिवेशनमा कांग्रेस विभाजित अवस्थामा थियो । प्रजातान्त्रिक कांग्रेसको नेतृत्व देउवाले गरेका थिए । १४ भदौ ०६२ मा भएको महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला नै सभापतिमा चयन भए । अर्को पार्टीमा भएकाले देउवा सहभागी भएनन् ।

कांग्रेस बाह्रौँ महाधिवेशन १ असोज ०६७ मा काठमाडौंमा भएको थियो । सभापतिमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ प्रत्याशी थिए । कोइराला पहिलो चरणमै विजयी भए । उनले १६ सय ५२, देउवाले १३ सय १७ र तामाङले ७८ मत पाए । यसरी देउवाले चारपटकसम्म महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिँदै आएका छन् ।

दुईवटै महाधिवेशनमा देउवाले पहिलो चरणमा ५० प्रतिशत मत कटाउन सकेनन्
कांग्रेसको १३औँ महाधिवेशन २० फागुन ०७२ देखि सुरु भएको थियो । महाधिवेशनमा देउवा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सभापतिका उम्मेदवार थिए । तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत कटाउन नसकेपछि मतदान दोस्रो चरणमा प्रवेश गरेको थियो । पहिलो चरणमा देउवाले १५ सय ६४, पौडेलले ११ सय ६० र सिटौलाले तीन सय २४ मत पाएका थिए ।

महाधिवेशनमा तीन हजार एक सय २० महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । शीर्ष दुईजना सभापतिका लागि पुनः प्रतिस्पर्धा गर्दा देउवाले १८ सय २२ मत पाएर विजयी भए । पौडेलले भने १२ सय ९६ मत पाए । ११ मतले पहिलो चरणमा नतिजा आफ्नो पक्षमा पार्न देउवा असफल भएका थिए । दोस्रो चरणको मतदानमा सिटौला पक्षले देउवालाई साथ दिएको थियो ।

१४औँ महाधिवेशनमा पनि देउवाले पहिलो चरणमा ५० प्रतिशत मत कटाउन सकेनन् । उनले २२ सय ५८ अर्थात् ४८.३ प्रतिशत मात्र प्राप्त गरे । आवश्यक मत प्रतिशत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणबाट बाहिरिएका सभापतिका प्रत्यासीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले देउवालाई समर्थन जनाएका थिए । कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा पहिलो चरणको निर्वाचनबाट सभापति पाउन सकेन । १३औँ महाधिवेशनमा दोस्रो चरणमा देउवा र पौडेल तथा १४औँ महाधिवेशनमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।

सुझावित समाचार