नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । मंगलबार राति राष्ट्रिय सभागृहमा भएको मतदानमा ४५ सय ६३ मत खसेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला प्रतिस्पर्धामा छन् ।
सोमबारको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा ७६ मत बदर भएको थियो। कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।
पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ। पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ।