नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा मतदान हुने निश्चित भइसकेको छ। सोमबार भएको मतदानमा प्राप्त मतका आधारमा पहिलो र दोस्रो भएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदै छ।
पहिलो चरणको प्रतिस्पर्धाबाटै बाहिरिएका प्रकाशमान सिंहले देउवालाई सघाउने घोषणा गरेका छन्। यो घोषणासँगै पहिलो चरणमा बनेको एलाएन्स भत्कने आशंका भइरहँदा देउवालाई साथ दिएका नेता कृष्ण सिटौला पक्षले भने एलान्स परिवर्तन नगर्ने बताएको छ। दोस्रो चरणमा देउवालाई नै सहयोग गर्ने सिटौलानिकट एक नेताले नयाँ पत्रिकासँग बताए।
बहुमतका लागि २३४० मत आवश्यक पर्नेमा पहिलो चरणमा देउवाले २२५८ मत ल्याउँदा कोइरालाले १७२९ मत ल्याएका थिए। ३७१ मत ल्याएर तेस्रो भएका सिंहले देउवालाई सघाउने र सिटौलाले एलाएन्स कायम राख्दा देउवा सभापति हुने निश्चित छ। पहिलो चरणमा देउवा ८२ मतले पुनः सभापति हुनबाट रोकिएका थिए।