रत्ना कार्की (३८), सर्लाही
: युवा र जनतामा आफ्नो राम्रो छाप छोडोस् । जनताको हितमा काम गर्न सक्ने गरी आगामी सरकारको नेतृत्व गर्न सक्ने व्यक्ति यो महाधिवेशनबाट चुनिनुपर्छ । देश, जनता र पार्टीको आजको आवश्यकता यही हो ।
प्रतिमा चौधरी (३५), बर्दिया : अबको नेतृत्व सबै जाति, भाषा, धर्मलगायतलाई समेट्न सक्ने समावेशी मूल्य–मान्यतालाई अँगालेर अगाडि बढ्न सक्ने होस् । त्यसैका लागि हामी त्यस्तै नेतृत्व चयन गर्न आएका छौँ । युवा पुस्तालाई अगाडि बढाउन सक्ने र लोकतान्त्रिक चरित्रलाई व्यवहारमा अभ्यास गर्न सक्ने नेतृत्वको आवश्यकता छ ।
नागिना यादव (४३), महोत्तरी : राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक मुद्दालाई सूक्ष्म तहबाट मूल्यांकन गरेर अगाडि बढ्न सक्ने नेतृत्व यस महाधिवेशनले चयन गर्नुपर्नेछ । एक्काइसौँ शताब्दीअनुसार हाम्रो कार्यशैली छैन । लिडरले आफूलाई समयसापेक्ष रूपान्तरण गर्न सकेन भने त्यसलाई युवा पुस्ताले स्विकार्न सक्दैन । पुराना आधार र नयाँ विचारले अगाडि बढ्न सक्ने नेतृत्व यस महाधिवेशनले चयन गर्नुपर्छ । विश्वव्यापीकरणको दुनियाँलाई सम्बोधन गर्न सक्ने नेतृत्व आउनुपर्छ ।
निर्मला खड्का (२८), भोजपुर : पुस्ता हस्तान्तरणको विकल्प छैन । तर, यसका नाममा पुराना पुस्ताका नेता सबैलाई बेवास्ता गरेर जानुहुँदैन । उहाँहरूको त्याग र बलिदानलाई पनि कदर गर्दै युवा पुस्तालाई नतृत्वमा लैजानुपर्छ । पार्टीको पहिचान बनाउने युवालाई संरक्षण गरेर अगाडि बढ्नुपर्छ । अहिलेको माहोल हेर्दा चुनाव दोस्रो चरणमा पनि जान सक्छ । जे होस् कांग्रेस सबै पक्षबाट गतिशील हुनुपर्छ ।
यशोदादेवी निरौला (४३), सर्लाही ३ : परिवर्तन आवश्यक छ । तर, यसका नाममा पुराना पुस्तालाई पूर्ण रूपमा बिर्सन मिल्दैन । उहाँहरूको अनुभवलाई अस्वीकार गर्दा पार्टीलाई र समग्र जनतालाई नै नोक्सान हुने हो । नयाँको पनि ऊर्जा चाहिन्छ । आगामी पुस्ताका लागि भलाइ हुने काम गर्ने भिजन भएका नेताहरू आउनुपर्छ ।
महेन्द्रदीप राई (३६), सोलुखुम्बु : अबको नेतृत्व नीतिमुखी हुनुपर्छ । कुनै कार्याक्रमसहित आउने नेतृत्वले मात्र पार्टी र देशका लागि काम गर्न सक्छ । जनताको हितमा काम गर्नका लागि कांग्रेसलाई बलियो बनाउन नेतृत्वसँग स्पष्ट विचार, मूल्य र आदर्श हुनुपर्छ । त्यस्तो नेतृत्व अबको आवश्यकता हो । नेतृत्वमा युवाहरूको पर्याप्त प्रतिनिधित्व छ । यो समग्र युवाका लागि आशालाग्दो विषय हो । १५औँ महाधिवेशनसम्ममा पार्टी युवा पुस्तामा गयो भन्ने सन्देश यो माहोलबाट देख्न सकिन्छ ।
विजेता झा (३४), धनुषा : नेतृत्व सबल हुनुपर्छ, संगठनलाई गतिशीलता दिन सक्ने हुनुपर्छ । गुटबन्दी अन्त्य गरेर नयाँ कार्यकर्तामा नयाँ जोस, जाँगर र उमंग भर्न सक्ने काम अबको नेतृत्वले गर्नुपर्छ । त्यसो हुन सकेन भने कांग्रेस कमजोर भएर जानेछ । कांग्रेसको नेतृत्वले अब देशको नेतृत्व गर्ने हो । त्यसैले देशका सबैखाले समस्या समाधान गर्न सक्ने र चौतर्फी विकासका लागि प्रतिबद्धतासहितको हुनुपर्छ अबको कांग्रेस सभापति ।
उस्पार सुनार (२९), काभ्रे : अबको नेतृत्वले नीति, नियम र संविधानलाई अक्षरशः पालना गर्न सक्ने हुनुपर्छ । विदेश पलायन भएको युवाशक्तिलाई स्वदेश फिर्ता गर्न सक्ने स्पष्ट कार्ययोजना दिन सक्नुपर्छ । रोजगारी सिर्जना गरेर मात्रै समृद्धिको यात्रा तय गर्न सकिन्छ भन्ने युवाहरूको मनोविज्ञानलाई बुझेर त्यसअनुसार काम गर्न सक्ने नेतृत्व कांग्रेसलाई चाहिएको छ । देशलाई नेतृत्व गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ । त्यसैले कांग्रेसको नेतृत्व त्यो जिम्मेवारीप्रति संवेदनशील हुन सक्नुपर्छ ।
तिलक चन्द (३२), जनसम्पर्क समिति, मलेसिया (सल्यान) : अबको कांग्रेस युवा पुस्ताले हाँक्नुपर्छ । निर्वाचनमा पहिलो पार्टी भएर आमबेरोजगार युवाको समस्यालाई सम्बोधन गर्नुपर्छ । उहाँहरूले जारी गरेका घोषणापत्रअनुसार काम गर्नुपर्छ । पहिलो प्राथमिकतामा वैदेशिक रोजगारीमा जानेलाई स्वदेशमै अवसरको सिर्जना गरेर उनीहरूको भावनालाई सम्मान गर्न अबको नेतृत्वले सक्नुपर्छ ।
नितेशकुमार गुप्ता (३२), रौतहट : अब कांग्रेसको नेतृत्व युवा पुस्तामा जानैपर्छ । सँगसँगै युवालाई एउटा राम्रो अभिभावकको पनि आवश्यकता पर्छ । त्यसका लागि अधिकांश पदमा युवा नेतृत्वका साथै केही भाइटल पदमा पुराना नेता पनि आउनुपर्छ । राजनीतिमा अनुभव एउटा महत्वपूर्ण पाटो हुन्छ । महाधिवेशनपछि पार्टीलाई एकढिक्का गराएर निर्वाचनसम्म जान सक्ने नेतृत्व आजको कांग्रेसको आवश्यकता हो । समग्रमा हामी युवा पुस्ताको खोजी गरिरहेका छौँ । युवा पुस्ता आउँछ भन्ने पूर्ण विश्वास पनि छ ।
रामचन्द्र पाठक (४१), जनसम्पर्क समिति, डेनमार्क (पाल्पा) : युवा पुस्ता निर्णायक हुने अवस्था आउँछ भन्ने अनुमान गरिएको छ । पार्टीभित्र समग्र क्षेत्रबाट परिवर्तनको आशा गरिएको छ । युवा प्रतिनिधि उमेरको मात्रै होइन विचारका हिसाबले पनि नयाँ सोचका साथ आउनुभएको छ । यसले गुट र उपगुटलाई चिर्नेछ भन्ने लाग्छ । २१औँ शताब्दी सुहाउँदो गतिशील नेतृत्व आवश्यक छ । कांग्रेसको नेतृत्व नै देशको आवश्यकता भएको अहिलेको राजनीतिक पृष्ठभूमिमा देशका हरेक समस्यालाई सम्बोधन गर्न सक्ने नेतृत्व नै आजको वर्तमान समयको आवश्यकता हो ।
जितेन्द्र शाही (४१), जनसम्पर्क समिति, नर्वे (डोटी) : यो महाधिवेशनले नयाँ ऊर्जा दिँदै छ । पूरै नयाँ टिम आएर पुराना पुस्ताका सबै नेता पाखा लाग्छन् भन्ने पनि होइन । अहिलेको विश्व परिवेशलाई नियाल्दा राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभव भएको नेताले कांग्रेसको नेतृत्व गर्नुपर्छ । कम्युनिस्टहरूले देशका अधिकांश संस्थामा क्षति पुर्याएको अवस्था छ । त्यो समस्यालाई समाधान गर्न अबको कांग्रेस नेतृत्वले सक्नुपर्छ । सम्पूर्ण नेपालीमा उत्साह प्रदान गर्न सक्ने हुनुपर्छ अबको नेतृत्व ।
तारा कार्की (४४), झापा : पार्टीलाई नीति र नियममा हिँडाएर नेपाली राजनीतिमा कांग्रेस भन्नेबित्तिकै एउटा राम्रो छाप प्रवाह गर्न सक्ने क्षमता भएको नेतृत्व हुनपर्छ । अबको नेतृत्व पार्टीलाई यथास्थितिबाट गतिशीलतातर्फ डोर्याउन सक्ने हुनुपर्छ । बेरोजगारी, गरिबीजस्ता देशका तमाम मुद्दालाई स्पष्ट दृष्टिकोणसहित सम्बोधन गर्न सक्ने हुनुपर्छ ।