कहीँ न कहीँ मिसनमा भड्किएका यात्रीजस्ता भएका छौँ : प्रचण्ड

माओवादी केन्द्रका नौवटा प्रदेश कमिटीका सम्मेलन सुरु

आइतबार, २६ मंसिर, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको माओवादी केन्द्रले शनिबारदेखि नौवटा प्रदेशका सम्मेलन सुरु गरेको छ । प्रदेश सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट एकसाथ भर्चुअल उद्घाटन गरेका हुन् ।

माओवादी केन्द्रको केन्द्रीय निर्वाचन समितिका संयोजक विष्णुपुकार श्रेष्ठका अनुसार शनिबार उद्घाटन भएका सबै प्रदेश सम्मेलनको बन्दसत्र आइतबारबाट सुरु हुनेछ । बन्दसत्रमा विभिन्न प्रतिवेदन र प्रस्ताव पारित भएसँगै सोमबार नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने श्रेष्ठले जानकारी दिए ।

‘दशमध्ये नौवटा प्रदेश कमिटीका सम्मेलन सुरु भएका छन् । आइतबार सबै प्रदेश सम्मेलनका बन्दसत्र सुरु भएर प्रतिवेदन पारित गरेपछि सोमबारबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ,’ उनले भने । निर्वाचन प्रक्रियाबाट माओवादी केन्द्रले प्रदेश कमिटीको नेतृत्व चयन गर्ने भएको छ । पहिलोपटक माओवादी केन्द्रले पार्टीभित्र चुनावमार्फत आन्तरिक प्रतिस्पर्धा गर्न दिने भएको छ । तर, प्यानल भने बनाउन पाइनेछैन ।

सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धमा जनतालाई गरेका वाचाबाट विचलित भएका छौँ कि भनेर सोच्नुपर्ने अवस्था आएको बताए । ‘हामी कहीँ न कहीँ उद्देश्यबाट विचलित हुन थालेका हौँ कि ? जनयुद्धका वेला जनताका माझमा प्रतिबद्धता गरेका थियौँ, जे भनेका थियौँ, अहिले हामी त्यही बाटो हिँडिरहेका छौँ त ?’ उनले भने, ‘हामीमा कहीँ न कहीँ समस्या देखिएको छ । कहीँ न कहीँ बाटो बिराएजस्तो भएका छौँ । कहीँ न कहीँ मिसनमा भड्किएका यात्रीजस्ता भएका छौँ ।’ 

उनले संसदीय राजनीतिमा जाँदा कहीँ न कहीँ धुलोमैलो लागेको स्वीकार गर्दै आजको राष्ट्रिय सन्दर्भ हेर्दा माओवादी नै राष्ट्रिय एकतालाई अगाडि बढाउन सक्ने देखिएको दाबी गरे । प्रचण्डले एमालेलाई पञ्चर्यालीको संज्ञा दिँदै भर्खरै सम्पन्न महाधिवेशनमा कुनै विचारको बहस नगरी व्यक्तिपूजाको कुरा गरिएको बताए । 

दशवटा प्रदेश कमिटी रहेको माओवादी केन्द्रको प्रवास प्रदेश कमिटीको सम्मेलन पछि गर्ने गरी अन्य नौवटा प्रदेश कमिटीको सम्मेलन सुरु गरेको हो । सातवटा भूगोल प्रदेश, उपत्यका र सम्पर्क समन्वय प्रदेशको अधिवेशन भने शनिबारदेखि सुरु भएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन ११ देखि १३ पुसमा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा गर्ने भएको छ ।

सुझावित समाचार