कांग्रेस महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी छन् । अघिल्ला महाधिवेशनको तुलनामा यसपटक युवा प्रतिनिधिको उल्लेख्य सहभागिता छ । कांग्रेसभित्र रूपान्तरण र पुस्तान्तरणको बहस चर्कैसँग उठेको छ । नयाँ पत्रिकासँगको कुराकानीमा महाधिवेशन प्रतिनिधिले पार्टीभित्र नयाँ नेतृत्व आउन सक्ने सम्भावना देखापरेको बताएका छन् । कांग्रेसको रूपान्तरण र पुस्तान्तरणमा नयाँ पुस्ताको मत निर्णायक बन्न सक्ने धारणा पनि व्यक्त गरेका छन् ।
युवा अघि बढे देश अघि बढ्छ : इशा बराल (२४), कास्की
यो महाधिवेशनबाट युवापुस्तालाई अगाडि ल्याउनुपर्छ । शिक्षित र चेतनशील युवापुस्ता अगाडि बढे देश अगाडि बढ्छ । युवाहरूलाई अवसर दिँदा त्यसको प्रभाव कस्तो हुन्छ भनेर परीक्षण गर्न पनि युवा नेतृत्व अगाडि आउनु आवश्यक छ । मलाई विश्वास छ, यसपटक महाधिवेशनमा सहभागी भएका मजस्ता धेरै प्रतिनिधिले आफ्नो मत त्यही विवेकका साथ प्रयोग गर्नेछन् ।
नेतृत्वमा युवापुस्ता अनिवार्य बनेको छ : देवकुमारी पौडेल (३१), महोत्तरी
कांग्रेसमा नेतृत्व परिवर्तन अत्यावश्यक भइसकेको छ । यसपटक ऐतिहासिक रूपमा युवा प्रतिनिधिको सहभागिता बढेको छ । त्यसले निश्चित रूपमा नेतृत्वमा युवापुस्तालाई अगाडि ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ । नयाँ पुस्ताहरू नेतृत्वको तहमा आउनुपर्छ र आउँछन् भन्ने विश्वास छ ।
धेरै युवाले उम्मेदवारी नै दिँदैनन् : ममता महतो (३२), पर्सा
पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्न र समग्र देशको हितमा काम गर्न कांग्रेसमा रूपान्तरण र पुस्तान्तरण आवश्यक छ । यसपटक धेरै महाधिवेशन प्रतिनिधि युवापुस्ताबाट आएका त छन् । तर, यसले नेतृत्व नै परिवर्तन गर्छ भन्ने मलाई लाग्दैन । नेतृत्व तहमा उम्मेदवारी परे मात्रै विजयी भइने हो । उम्मेदवारी नै नपरेपछि कसरी नयाँ नेतृत्व आउने हो र ? मलाई लाग्छ, धेरै युवानेताको उम्मेदवारी नै पर्दैन ।
कांग्रेसलाई गति दिन नेतृत्व फेर्नुपर्छ : ध्रुवप्रसाद पौडेल (५२), काठमाडौं
कांग्रेसमा यसपटक नयाँ अभ्यास हुँदै छ । महाधिवेशनले नेतृत्व मात्र चयन गर्नेछ र तीन महिनापछि निर्वाचित नेतृत्वले नीति ल्याउनेछ । अबका केही महिनाभित्रै विभिन्न चरणका निर्वाचन हुने भएकाले नेतृत्व कस्तो आउला भनेर पनि चासो छ । महाधिवेशनमा यसपटक धेरै युवाको सहभागिता भएकाले युवाभोट निर्णायक बन्न सक्छ । देशैभरका कार्यकर्ताले कांग्रेसलाई नयाँ गति दिन नेतृत्व परिवर्तनको आकांक्षा व्यक्त गरेका छन् । मलाई विश्वास छ, महाधिवेशन प्रतिनिधिले कार्यकर्ताको त्यो आकांक्षा मताधिकारमार्फत पूरा गर्नेछन् ।
महाधिवेशनमा नीतिगत बहस हुनुपर्थ्यो : दीपेन्द्रबहादुर बम (३४), कैलाली
यसपटकको महाधिवेशनमा सभापति र पदाधिकारी को बन्ने भन्ने चर्चा मात्र देखिएको छ । यो ठीक होइन । पार्टीमा पुस्तान्तरण र हस्तान्तरणको बहस चलिरहँदा नीतिगत बहस पनि हुनुपथ्र्यो । आसलाग्दो कुराचाहिँ, युवाहरूको सहभागिता अर्थपूर्ण छ । त्यसैले नयाँ र पुराना पुस्ताबीच सौहार्दपूर्ण वातावरणमा, आपसी समझदारीमा नेतृत्व चयन हुनुपर्छ ।
युवाले पार्टी मात्रै होइन, देश हाँक्न सक्छ : युवराज न्यौपाने (४०), गोरखा
नेपालको हरेक क्रान्तिको अगुवाइ गरेको कांग्रेसले आफूभित्रको नेतृत्व परिवर्तनको क्रान्ति यही महाधिवेशनबाट गर्नुपर्नेछ । समृद्ध नेपाल बनाउन सक्षम व्यक्तिले अब कांग्रेस हाँक्नुपर्छ । लोकतान्त्रिक चरित्र बोकेर कांग्रेसलाई डो¥याउन सक्ने धेरै सक्षम युवा नेतृत्व लिन सक्ने अवस्थामा छन् । अब उनीहरूले नै कांग्रेस र देशलाई उन्नत दिशातिर लैजान सक्छन् । मेरो विश्वास छ, सक्षम नेतृत्व चयनका लागि सबै महाधिवेशन प्रतिनिधिको योगदान रहनेछ ।
नयाँ जोस र पुरानो अनुभव मिलाऔँ : वासना थापा (३६), दैलेख
पार्टीले परिवर्तन खोजिरहेको छ । तर, रूपान्तरण र पुस्तान्तरणको नाममा एकैपटक नयाँ पुस्ता पार्टीमा हाबी भयो भने त्यसको असर नकारात्मक पनि हुन सक्छ । राजनीतिमा कतिपय सन्दर्भमा धीरता, निर्णायक क्षमता र इमानदारी आवश्यक पर्छ । विश्व, गगन र प्रदीपजस्ता युवाको नाम अहिले आइरहेको छ । उहाँहरूको जोस र पुराना नेताहरूको अनुभवले पार्टीलाई सही बाटोमा हिँडाउँछ भन्ने लाग्छ । नयाँ नेतृत्वमा जो आए पनि महाधिवेशनपछि पार्टीभित्र एकता छ भन्ने सन्देश दिन सक्नुपर्छ । युवाहरूको सहभागिताले पक्कै पनि यस महाधिवेशनमा प्रभाव पर्नेछ ।
युवाले मात्रै चाहेर पार्टी रूपान्तरण हुँदैन : धनकुमारी थापा (३९), ललितपुर
हामी यसपटक देश, जनता र पार्टीले खोजेको परिपक्व नेतृत्व चयन गर्दै छौँ । सबै तहमा नयाँ पुस्ता आएर मात्र कांग्रेसको रूपान्तरण हुन सक्दैन । त्यसले पार्टीभित्र अराजकता निम्त्याउने खतरा पनि उत्तिकै हुन्छ । पार्टीको भविष्य र देशको भविष्य एक–अर्कामा परिपूरक छन् । नयाँ पुस्ताको जोस र पुरानो पुस्ताको होस पार्टीका लागि आवश्यक छ । त्यसका लागि नयाँ र पुरानाबीचको संयोजनबाट पार्टी अगाडि बढ्नुपर्छ ।
महाधिवेशनपछि गुट–उपगुट अन्त्य होस् : मोहमद मुकिम खान (४२), ललितपुर
यसपटकको महाधिवेशन औपचारिकतामा सीमित हुनुहुँदैन । यो महाधिवेशनले पार्टीभित्रको गुट र उपगुटको अन्त्य गर्नुपर्छ । महाधिवेशन प्रतिनिधिमा युवापुस्ताको उल्लेखनीय सहभागिता छ । तर, सभापतिमा नयाँ अनुहार आउने बलियो सम्भावना देखिएको छैन । सभापतिबाहेकका पदाधिकारीमा नयाँ अनुहार आउनेमा म विश्वस्त छु । पुस्तान्तरणको आवश्यकता छ, तर यसपटक बूढा नेताहरू नै पार्टीमा हाबी हुने सम्भावना छ ।