उत्तरी गोरखाबाट ३२ बोरा कुटकी जडीबुटीसहित एकजना पक्राउ परेका छन्। धार्चे गाउँपालिका–५ माछिखोलाबाट ग्याल्जेन लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। खच्चडलाई जडीबुटी बोकाएर ल्याउँदै गरेका चुमनुब्री गाउँपालिका– १ सामागाउँ बस्ने ४३ वर्षीय लामालाई बुधबार दिउँसो पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले जानकारी दिए।
मनास्लु संरक्षण क्षेत्र आयोजनाबाट छुटपुर्जी नलिई संकलन गरेको जडीबुटी भएकाले नियन्त्रणमा लिइएको उनले बताए। उक्त जडीबुटी गाउँको विभिन्न स्थानबाट संकलन गरेको लामाले बताएका छन्। पक्राउ परेका लामालाई डिभिजन वन कार्यालय गोरखामा कारबाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ।