नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेस महाधिवेशनमा जानुअघि प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ओलीले देशको अभिभारा सम्झाउन पनि आफू कांग्रेस महाधिवेशनमा जाने बताएका हुन्।
अरू पार्टीहरू पानीका फोकाजस्तै उठ्ने–फुट्ने भन्दै उनले एमाले देशको पहिलो लोकतान्त्रिक पार्टी भएको दाबी गरे। 'आधारभूत रूपमा कांग्रेस पनि देशको पुरानो र लोकतान्त्रिक पार्टी हो। अरू भनेका पानीका फोका जस्ता हुन्–उठ्छन् फुट्छन्। पृथ्वीबाट राति आकाशतिर हेर्दा थुप्रै स्याटेलाइटहरू देखिन्छन्। अरू भनेका स्याटेलाइट पार्टी हुन्– बन्छन् बिलाउँछन्,' ओलीले भने, 'त्यसैले यो देशको अभिभारा के हो, राष्ट्रियताको बारेमा के गर्नुपर्छ भनेर सम्झाउन म कांग्रेस महाधिवेशनमा जाँदै छु।'