प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा हुने हार–जितलाई स्वाभाविक रूपमा लिन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । सकेसम्म सहमतिका आधारमा महाधिवेशनबाट नेतृत्व चयन गरिने देउवाको भनाइ छ ।
‘महाधिवेशनमा हामी भरसक सहमतिका साथ अगाडि जान्छौँ । नभए प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा जित हुन्छ, हार हुन्छ,’ कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तकको बिहीबार विमोचन गर्दै देउवाले भने, ‘हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेको सहयोग लिने हो । यसलाई सामान्य प्रक्रिया मानेर कुनै किसिमको कटुता वा कुनै किसिमको मानहानि र एक–अर्कामा भित्रैबाट असहिष्णुता नआओस् ।’
सभापति देउवाले महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौं आएका नेता–कार्यकर्ताले यही उत्साह र ऊर्जा आगामी चुनावसम्मै लैजानुपर्नेमा जोड दिए । आगामी चुनावमा कांग्रेसलाई पहिलो शक्ति बनाउने मिसनमा लाग्न पनि नेता–कार्यकर्तालाई आग्रह गरे ।
‘महाधिवेशन सुरु भइरहेको छ । कांग्रेसका लागि यो महाधिवेशन अत्यन्तै महत्वपूर्ण छ । मलाई लाग्छ–नेपालकै प्रजातान्त्रिक भविष्यका लागि अत्यन्तै महत्वपूर्ण महाधिवेशन हो । यस उत्साहपूर्ण घडीमा यसलाई सफल पारेर महाधिवेशनपछि तपाईंहरू अत्यन्तै उत्साहका साथ गाउँघर फर्किनुहुनेछ,’ देउवाले भने, ‘तपाईंहरू फर्किएर आमचुनावमा कांग्रेसलाई बहुमतकै पार्टी बनाउने काममा लाग्नुहोला । मलाई विश्वास छ– यस काममा पार्टीका सबै साथीहरू लाग्नुहुनेछ ।’