नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मध्याह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनमा पेस गरिने कार्यसूची, महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
महाधिवेशन यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको उद्घाटनमंसिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र सोही स्थानमा रहेको हलमा बन्द सत्र हुनेछ भने भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान हुने पार्टी कार्यालयले जनाएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन यही मंसिर २४ गते बिहान १० बजे हुनेछ ।
यसैगरी, उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबीविरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२:१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।