नेपाली कांग्रेसमा कसरी चुनिन्छन् पदाधिकारी र केन्द्रीय सदस्यहरू?

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ (आगामी शुक्रबार) गतेबाट सुरु हुँदै छ। देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो। यस महाधिवेशनले १४ जनाको पदाधिकारीसहित १६७ जनाको केन्द्रीय कार्यसमिति बनाउनेछ। 

कांग्रेसको १४औँ महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुनेछन्। कांग्रेसको संशोधित विधानअनुसार सहमहामन्त्रीहरू विभिन्न क्लस्टरबाट उम्मेदवार बन्ने, तर सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउनेछन्। तर, कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन नहुने व्यवस्था गरिएको छ।  महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यमध्येबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ।

१४ औँ महाधिवेशनबाट कम्तीमा १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला) ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रीय समितिले थप ३३ जना केन्द्रीय समिति मनोनयन गर्ने व्यवस्था विधानमा छ। केन्द्रीय समितिमा महिलाबाट नाैजना, प्रत्येक प्रदेशबाट एक महिलासहित तीनजना हुने गरी २१ जना, दलितबाट चार महिलासहित नाैजना, आदिवासी जनजातिबाट सात महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेसीबाट चार महिलासहित नाैजना, थारूबाट २ महिलासहित चारजना, मुस्लिमबाट एक महिलासहित तीनजना र पिछडिएको क्षेत्रबाट एकजना गरी ५४ जना केन्द्रीय सदस्य चुनिनेछन् ।

यसमा अपांगता वा अल्पसंख्यक समूहबाट एक केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। यता सभापतिले मनोनयन गर्ने ३३ जना केन्द्रीय सदस्य विधानअनुसार निर्वाचित भएर आउन नसकेको विभिन्न क्लस्टर महिला, समावेशी सिद्धान्त र अपांगता वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी मनोनयन गर्नुपर्नेछ। निर्वाचित केन्द्रीय समितिमा क्लस्टर र आरक्षण गरिएको समूहबाट मात्र महिला निर्वाचित भए ४१ जना हुनेछन्। समावेशी र समानुपातिक सिद्धान्तअनुसार सभापतिले थप १४ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने हुन्छ अनि मात्र ३३ प्रतिशत महिला केन्द्रीय सदस्यमा पुग्नेछन्।

सुझावित समाचार