कांग्रेस सर्लाही : संस्थापन पक्षले खाता खोल्यो, इतरका अमरेश सिंहसहित प्यानलै पराजित

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेस संस्थापन पक्षले सर्लाहीमा खाता खोलेको छ । जारी अधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनमा क्षेत्र नम्बर ४ बाट संस्थापन पक्षले विजयी सुरुवात गरेको हो । बुधबार सम्पन्न मतगणनाअनुसार क्षेत्र नम्बर ४ को क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो । सम्पन्न मतगणनाअनुसार क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा धन्कौल गाउँपालिकाका अध्यक्षसमेत रहेका राम आश्रय साह पाँच सय १६ मतसहित विजयी भएका छन् । साहका निकटतम् प्रतिद्वन्द्वी संस्थापनइतरका हरेन्द्र सहनीले दुई सय २७ मत मात्र प्राप्त गरेका छन् । विजयी अन्य पदाधिकारीहरूले समेत यही अनुपातमा मत प्राप्त गरेका छन् । 

यस्तै, नेपाली कांग्रेस सर्लाहीको संस्थापनइरतका नेता तथा संघीय सांसदसमेत रहेका अमरेशप्रसाद सिंह महाधिवेशन प्रतिनिधिमा भारी मतान्तरले पराजित भएका छन् । उनले दुई सय ४८ मत मात्र प्राप्त गरे । उनीसहित इतर पक्षका प्यानल सबै पराजित भएका छन् । संस्थापन पक्षका सम्पूर्ण उम्मेद्वारले दुईगुुणाको अनुपातमा मत प्राप्त गरेको निर्वाचन कमिटिले जनाएको छ । कांग्रेस सर्लाहीको अधिवेशनको क्रममा क्षेत्र नम्बर ४ मा चर्को विवाद देखिएको थियो भने दुईपटक गोलीसमेत चलेको थियो । 

दुई पक्षको चर्को विवादका कारण जिल्लामा सम्पूर्ण अधिवेशनको कार्यक्रम पटक–पटक अन्योलमा पर्दै आएको थियो । सोही क्षेत्रमा सबैभन्दा सुरुमा सौहाद्रपूर्ण वातावरणमा अधिवेशन सम्पन्न हुनुले सकारात्मक सन्देश दिएको जानकारहरुको भनाइ छ । 

यस्तै, क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा रेखा देवी, उषा देवी, किरण शर्मा, बेबी सिन्हा, वीरेन्द्रप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, कौशलकिशाेर सिंह, राजेश्वरप्रसाद सिंह, उपेन्द्र कुश्वाह, रघुवीर कार्की, दिनेशकुमार रायमाझी, केशवकुमार खड्का, आश्रितकुमार सिंह, शिवशंकर रिजाल, रेखाकुमारी देवी सुनैना देवी, आरतीकुमारी साह, श्यामसुन्दर यादव, लक्ष्मीनारायण महतो, लालबाबु राय, नन्द  लाल महतो, दुलारदास तत्मा, वोस्त महम्मद निर्वाचित भएका छन् ।  

क्षेत्रीय कमिटीको सचिवमा वीरेन्द्र महतो र राजन साह सहसचिवमा पाँचु राय, राम वली गिरी र अमिरखाँ देवी, रामानन्द महतो, राम उदय राय, शिवकुमार चौधरी, सोनेलाल पासवान सदस्यमा निर्वाचित भएका छन् । उनीहरू सबैजना संस्थापन अर्थात् प्रदेश २ का मन्त्री वीरेन्द्र सिंह पक्षका हुन् ।

यस्तै, मंगलबार नै क्षेत्र नम्बर १ मा पनि मतदान सम्पन्न भएको थियो । राति अबेर मतदान सम्पन्न गरेर मत गणना सुरु गरिएको छ । दिउँसो अबेरसम्ममा निर्वाचन क्षेत्र नम्बर १ को पनि अन्तिम मतपरिणाम सार्वजनिक हुने निर्वाचन अधिकृतको सचिवालयले जनाएको हो । गणना टोली थप गरेर मत गणना छिटो सक्ने प्रयास भइरहेको निर्वाचन कमिटीले जनाएको छ । 

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ र ३ मा बुधवारका लागि मतदान तय गरिएको छ । क्षेत्र नम्बर २ मा मतदान अधिकृत बिरामी भएर राजीनामा दिएको र ३ नम्बरमा विवादका कारण मंगलबार राति अबेर मात्र उम्मेदवारी दर्ता गरिएकाले बुधबारका लागि मतदानको तयारी गरिएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए । क्षेत्र नम्बर २ मा मंगलबार दिउँसोको मतदान बुधबारलाई सारिएको सूचना टाँस गरिएको थियो । 

यस्तै, क्षेत्र नम्बर ३ मा विवाद देखिए निर्वाचन प्रक्रिया समयमै सुरु हुन सकेको छैन ।  मंगरबार मध्यरातिसम्म उम्मेदवारी दर्ता गराइएको मतदान अधिकृत नवराज थापाले जानकारी दिए । बिहान उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगत्तै मतदान गरिने तयारी भएको मतदान अधिकृत थापाको भनाइ छ । क्षेत्र नं. ३ मा भने क्षेत्रीय अध्यक्षमा नै तीनजनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट पुण्यहरि घिमिरे, संस्थापनइतरबाट भिखारी राय तथा स्वतन्त्र रूपमा हरिवननिवासी युवा नेता नीरज कार्कीले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन्  भने क्षेत्र नं. १ मा संस्थापन पक्षबाट कुवेर आचार्य र संस्थापनइतरबाट हरि लुंगेली सभापतिको उम्मेदवार छन् ।

जिल्लाको दुई क्षेत्रमा शान्त वातावरणमा मतदान तथा मतगणनाको कार्य सम्पन्न भएको निर्वाचन अधिकृतको सचिवालयले जनाएको हो । सर्लाही क्षेत्र नम्बर ४ मतदान र मतगणनाका लागि सुरक्षाकोे दृष्टिकोणले अति संवेदनशील मानिएको थियो । 
 

सुझावित समाचार