दैलेखमा खैरो हिरोइनसहित तीनजना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले ६९० मिलिग्राम खैरो हिरोइनसहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए ।
दैलेख नारायण नगरपालिका– १ पुरानो बसपार्कबाट मंगलबार राति साढे ११ बजे बर्दिया साबिक बेलवा– ७ हाल बासगढी नगरपालिका बस्ने २६ वर्षीय विक्रम मल्ल, बाँके कोहलपुर नगरपालिका बस्ने २३ वर्षीय गणेश के.सी र २६ वर्षीय हेमन्त साउद पक्राउ परेका हुन् । नियन्त्रणमा लिई खानतलासी गर्दा तीनैजनासँग खैरो हिरोइन भेटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजनालाई थप अनुसन्धानको लागि १० दिन म्याद थपी हिरासतमा राखिएको प्रहरीले बताएको छ ।