सरकारले झन्डै नौ महिनापछि स्थानीय तहका एक हजार ६१३ कर्मचारीको एकसाथ सरुवा गरेको छ। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै मंसिर १९ र २० गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरेको जनाएको छ। मन्त्रालयले स्थानीय तहमा कार्यरत ती कर्मचारीलाई ‘अन्तरस्थानीय तह कामकाज’का नाममा सरुवा गरेको हो।
सरकारले यसअघि पनि स्थानीय तहका कर्मचारीको सरुवा गरेको थियो। तत्कालीन संघीय मामिलामन्त्री गणेश ठगुन्नाले गत २९ माघमा ‘लोकसेवा आयोगको सिफारिसमा नियुक्त भई खटिएका कर्मचारीलाई कामकाजका लागि अन्तरस्थानीय तहमा खटाउने निर्णय गरेका थिए। तर, उनले नै १ चैतमा अन्तरस्थानीय तह सरुवा रोकिदिएका थिए। योबीचमा संघीय मामिलामन्त्री र मन्त्रालयका उच्च अधिकारीको जोडबलमा अन्तरतह सरुवा हुँदै आए पनि नियमत: सरुवा खुलेको थिएन।