अब कर्णालीले डाक्टर उत्पादन गर्छ

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा एमबिबिएस पठनपाठन हुँदै, राष्ट्रपति विद्यादेवी भण्डारीले २६ मंसिरमा शुभारम्भ गर्ने

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ०६८ मा जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको थियो । स्थापनाको एक दशकपछि प्रतिष्ठानले चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस)को पठनपाठन सुरु गर्न लागेको छ । एमबिबिएस अध्ययनका लागि आइतबारदेखि परामर्श सुरु भएको प्रतिष्ठानका रजिस्ट्रार निपेन्द्र महतले जानकारी दिए ।

कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुल्यो : प्रा.डा. निरेश थापा, शिक्षाध्यक्ष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालन भएसँगै यहाँको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्न कोसेढुंगा सावित हुनेछ । स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोसेढुंगा हो । अब अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ ।

आगामी २६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपमा एमबिबिएस अध्ययनको शुभारम्भ गर्ने तयारी छ । एमबिबिएस पठनपाठन शुभारम्भ कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेल र स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि सहभागी हुनेछन् । राष्ट्रपतिले कर्णालीको ड्रिम प्रोजेक्टका रूपमा रहेको बहुवर्षीय आयोजनाको शिलान्याससमेत गर्ने महतले बताए । प्रतिष्ठानले एमबिबिएस कोटामा २० सिट अध्यापनको अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगको गत २९ जेठको बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो । 

आयोगले पहिलोपटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिटमध्ये आइतबार १५ जना भर्ना भएका छन् । तीमध्ये छात्रा पनि छन् । उनीहरू प्रतिष्ठानले आइतबार नै आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएका थिए । ‘जुम्ला आएर एमबिबिएस भर्ना हुन पाएकामा औधी खुसी छु,’ पहिलो नम्बरमा भर्ना भएका ओमकुमार यादवले भने । उच्च हिमाली तथा विकट क्षेत्र जुम्लामा पहिलोपटक चिकित्सा शिक्षा अध्ययन हुन लागेकाले यसलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रतिष्ठानमा एमडी, बी फार्मेसी, नर्सिङ पढाइँदै
जुम्ला  प्रतिष्ठानमा पहिलोपटक चालू शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी)को अध्यापन सुरुवात भइसकेको छ । सो तहमा भक्तपुरका डा.रहिस कोजू, काठमाडौंका डा.प्रशंसा ताम्राकार र कपिलवस्तुका डा.वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत छन् । दार्चुलाका डा.ललितसिंह धामी एनेस्थेसिया र बाराका डा.मुन्ना केशरी पेडियाट्रिक्समा एमडी तहमा अध्ययनरत छन् । प्रतिष्ठानले यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), नर्सिङ पनि अध्यापन पनि सुरु गरेको छ । ती दुवै विषयमा २०/२० जना विद्यार्थी अध्ययन गर्नेछन् । यसअघि नै प्रतिष्ठानमा बिएनएस मिडवाइफ्री र विपिएचको अध्यापन सुरु भइसकेको छ ।

प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जनाएको छ । प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि तीन सय शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसियू) र चार शय्याको शल्यक्रिया कक्ष छ । 

कर्णालीले दक्ष जनशक्ति उत्पादन गर्छ : नरेश भण्डारी, पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री, कर्णाली प्रदेश

अब कर्णालीले मुलुकमा स्वास्थ्य सेवा पुर्‍याउने गरी डाक्टर जनशक्ति उत्पादन गर्छ । विगतमा रोग, भोक, गरिबी, अशिक्षा र उपेक्षामा परेको कर्णालीले मुलुकका उपेक्षित र स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकसमक्ष सेवा पुर्‍याउने मर्मलाई आत्मसात् गर्दै आफ्नो गन्तव्य तय गर्छ ।

चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक कार्यरत छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. निरेश थापाले घरआँगनमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कर्णालीमा मेधावी छात्रछात्राको सपना पूरा भएको बताए । ‘कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालन भएसँगै यहाँको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्न कोसेढुंगा सावित हुनेछ,’ उनले भने, ‘स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोसेढुंगा हो । अब अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ ।’ 

शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पाठ्यक्रम, भौतिक पूर्वाधार, जुम्ला अस्पतालको स्तरोन्नति, उपकरण थप, दक्ष जनशक्ति (शिक्षक) को व्यवस्थापनमा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले निकै ठूलो भूमिका खेलेका थिए । ‘कर्णालीको स्वास्थ्य सुधारमा नयाँ युगको सुरुवात भएको छ । अब उत्कृष्ट अध्यापनमा जोड दिनुपर्छ,’ उनले भने ।

‘कर्णाली आऊ, डाक्टर बनेर जाऊ’
कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले एमबिबिएस कार्यक्रम सुरु भएपछि ‘कर्णाली आऊ, डाक्टर बनेर जाऊ’ भन्ने कर्णालीवासीको सपना अब पूरा हुने बताए । ‘अब कर्णालीले मुलुकमा स्वास्थ्य सेवा पुर्‍याउने गरी डाक्टर जनशक्ति उत्पादन गर्दछ,’ उनले भने, ‘विगतमा रोग, भोक, गरिबी, अशिक्षा र उपेक्षामा परेको कर्णालीले मुलुकका उपेक्षित र स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकसमक्ष सेवा पुर्‍याउने मर्मलाई आत्मसात् गर्दै आफ्नो गन्तव्य तय गर्छ ।’

प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारीले चिकित्साशास्त्रका थप नयाँ कार्यक्रम सञ्चालन तयारी भइरहेको जानकारी दिए । एमबिबिएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुला गरेको उनले बताए । ‘प्रतिष्ठानले कर्णालीवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । अब सेवाका साथै शिक्षामा जोड दिन्छौँ,’ उनले भने । कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले देशमै उत्कृष्ट सेवा पुर्‍याउँदै आएको छ । प्रतिष्ठानले कर्णालीका डाक्टर अभाव भएका अस्पताल तथा पालिकामा स्वास्थ्यकर्मीको व्यवस्थासमेत गर्दै आएको छ । 

See More On

सुझावित समाचार