कांग्रेसको १४औँ महाधिवेशनको सुरक्षाका लागि नेपाल प्रहरीले प्रविधिको उच्चतम प्रयोग गर्दै तीन तहको सुरक्षा प्रबन्ध गर्ने भएको छ । जसमा सिसिक्यामेरा अत्यधिक प्रयोग हुनेछन् । महाधिवेशन सुरक्षाको सम्पूर्ण कमान्ड रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयबाट हुनेछ । नेतृत्व कार्यालय प्रमुख एआइजी हरिबहादुर पाल आफैँले गर्नेछन् । उनको नेतृत्वमा नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित आठ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछन् ।
सुरक्षाको भित्री तहमा नेपाल प्रहरीका सुरक्षाकर्मी रहनेछन् । मतदान र सभास्थललाई भित्री तह मानिएको छ । दोस्रो तहमा राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीकै सादा पोसाकका सुरक्षाकर्मी रहनेछन् । मतदान हुने भवन, मतदाता राखिएका होटेल, गेस्टहाउस र त्यसआसपासका क्षेत्रलाई दोस्रो तह मानिएको छ । सशस्त्र प्रहरी भने बाहिरी घेरामा हुनेछन् । विशेषगरी मतदान तथा सभाहलआसपासका सडक, पेटी, अग्ला भवन, ओभरहेड ब्रिजलगायत क्षेत्रलाई बाहिरी घेरा मानिएको छ ।


कार्यालयका प्रवक्ता एसपी सुशीलसिंह राठौरले महाधिवेशन सुरक्षाका लागि आवश्यक तयारी पूरा भएको बताए । उनले भने, ‘कांग्रेस महाधिवेशन राजधानीमै हुँदै छ । सुरक्षा व्यवस्था मिलाउने काम महानगरीय प्रहरी कार्यालयलाई आउनु स्वाभाविक हो । आवश्यक तयारी पूरा भइसकेको छ । केही बाँकी पनि केही दिनभित्रै पूरा हुनेछन् । सात हजारभन्दा धेरै प्रहरी सुरक्षामा खटिनेछन् । सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि हामीसँगै रहनेछन् ।’
कार्यालयका अनुसार महाधिवेशनको सुरक्षाका लागि नेपाल प्रहरीले ‘हाइ टेक’ प्रणालीको पनि प्रयोग गर्नेछ । जसमा नाइट भिजनसहितको सिसिक्यामेरा अत्यधिक प्रयोग हुनेछ । कन्ट्रोल रुम भने रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयमै रहनेछ । जहाँ महाधिवेशन क्षेत्रआसपास हुने हरेक गतिविधिको विश्लेषण हुनेछ । शंकास्पद गतिविधि भएको देखिए तुरुन्तै सुरक्षाकर्मी खटाइनेछ । र गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइनेछ ।
कार्यालय प्रवक्ता एसपी राठौरले भने, ‘हामीले महाधिवेशन सुरक्षामा प्रविधिको पनि प्रयोगलाई पनि उत्तिकै प्राथमिकतामा राखेका छौँ । महाधिवेशनआसपासका सबै क्षेत्र सिसिक्यामेराबाट कभरेज हुनेछ । कन्ट्रोल रुम भने कार्यालयमै रहनेछ । जहाँ हुने हरेक गतिविधिबारे सूक्ष्म विश्लेषण हुनेछ । शंकास्द देखि तुरुन्तै एक्सन हुनेछ ।’
महाधिवेशनमा हुन सक्ने अवान्छित गतिवधि रोक्न उपत्यका भित्रिने सबै नाकाको सुरक्षा कडा बनउन मातहतका निकायलाई निर्देशन भइसकेको छ । सोहीअनुसार नाकास्थित जाँच प्रक्रियालाई तीव्र पारिएको छ । यो क्रम अधिवेशनभर चल्ने एसएसपी राठौरले बताए । उनले भने, ‘उपत्यका भित्रिने नाकाको सुरक्षालाई चुस्त बनाउन निर्देशन भइसकेको छ । जाँच बढाइएको छ ।’