नेतृत्वका लागि राप्रपामा मतदान, परिणाम आज

आइतबार, १९ मंसिर, २०७८
डिजिटल संस्करण

राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र एक सय ४१ जना केन्द्रीय सदस्यका लागि शनिबार मतदान भएको छ । कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ ।अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देन, उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि दुई सय ७६ जना प्रतिस्पर्धामा छन् । आइतबार निर्वाचन परिणाम आउनेछ ।

राप्रपा केन्द्रीय निर्वाचन समिति सदस्य श्यामबहादुर शाहीका अनुसार अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्य गरी जम्मा एक सय ४९ जना निर्वाचित हुनेछन् । ‘आइतबार बिहान मतपरिणाम आउने गरी काम गरिरहेका छौँ,’ शाहीले भने । शनिबार बिहानदेखि सुरु भएको मतदान अबेरसम्म जारी थियो । राप्रपाको अध्यक्षका लागि मतपत्रबाट तथा पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान भएको छ । 

उपाध्यक्षका उम्मेदवार विक्रम पाण्डे अध्यक्षका उम्मेदवारद्वय कमल थापा र राजेन्द्र लिङ्देन दुवैको प्यानलमा परेका छन् । त्यस्तै, थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की छन् । लिङ्देन पक्षबाट दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीलादेवी श्रेष्ठ उपाध्यक्षमा भिड्दै छन् ।

त्यस्तै, दुर्गा श्रेष्ठ र जगत गौचनले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । महामन्त्री पदका लागि थापा पक्षबाट नेताहरू भुवन पाठक, भास्कर भद्रा र कुन्तीकुमारी शाहीको उम्मेदवारी परेको छ । लिङ्देन समूहले महामन्त्रीमा रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिनालाई उठाएको छ ।

See More On

सुझावित समाचार