कांग्रेस कर्णालीको सभापतिमा तीनजनाको उम्मेदवारी

शुक्रबार, १७ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा तीनजनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार ललितजंग शाही (जुम्ला), भूपेन्द्रजंग शाही (कालीकोट) र मोतीराज बम (कालीकोट) ले सभापति पदमा उम्मेदवारी दिएका हुन् । 

ललितजंग संविधानसभाका सदस्य, भूपेन्द्रजंग तरुण दलको महामन्त्री र बम महासमिति सदस्य हुन्। निर्वाचन समितिका सदस्य अधिवक्ता विवशकुमार बस्नेतले सभापतिसहित १२८ जनाको विभिन्न पदमा उम्मेदवारी परेको जानकारी दिए।

उपसभापति पदमा कालीबहादुर सहकारी, सनतकुमारी कार्की, देवेन्द्रबहादुर शाही, तिलकबहादुर भण्डारी, महामन्त्रीमा निरञ्जन केसी, कृष्णकुमार रोकाया, कृष्णबहादुर बिसी, खगेन्द्रबहादुर मल्ल, गोविन्दबहादुर कोइरालाले उम्मेदवार दर्ता  गरेका छन्। सहमहामन्त्री पदमा पुरुषतर्फ उपेन्द्रबहादुर थापा, एकराज डांगी, नेत्रलाल पौडेल, जयनन्द उपाध्याय तथा महिलातर्फ रामछायाकुमारी शाही र देविकाकुमारी साउद छन् । 

 कांग्रेसको विधानमा प्रदेश उपसभापति दुई, महामन्त्री दुई र महिला र पुरुषतर्फ एक–एक सहमहामन्त्री हुने व्यवस्था छ। उक्त पदका लागि शनिबार  १२ बजेदेखि पाँच बजेसम्म मतदानको समय तोकिएको छ।

सुझावित समाचार