एमाले अधोगतितर्फ गइसक्यो : अध्यक्ष नेपाल

सोमबार, १३ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले एमाले छाड्नुको कारण बुझ्न चितवनको तमासा र कुम्भ मेला नै पर्याप्त रहेको बताएका छन्। सोमबर प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफूले कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेबाट विद्रोह गरेको उल्लेख गर्दै यस्तो बताएका हुन्।

नेकपा एमालेभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै उनले एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको टिप्पणी गरे। कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने प्रवृत्तिले नै एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रस्ट पारेको भन्दै उनले एमाले अधोगतितर्फ गइसकेको दाबी गरे।

नेपालले भने, ‘अहिले हामीले कम्युनिष्ट आन्दोलनमा विद्रोह गरेका छौँ। नेकपा एमालेबाट विद्रोह गर्याैँ। किन विद्रोह गर्याैँ त्यसको व्याख्या गरिरहनुपर्दैन, चितवनको तमासा नै पर्याप्त छ। त्यहाँको कुम्भ मेला नै पर्याप्त छ, त्यहाँ फरक मत राख्ने व्यक्तिहरूमाथि जसरी अपमान भएको हामीले समाचार पाइराखेका छौँ, त्यो नै पर्याप्त छ। जनताको बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने, आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रस्ट पार्दछ कि अब त्यो नेकपा एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ।’

सुझावित समाचार