जनताले अनुभूत गर्ने गरी उपलब्धिलाई महसुस गराउने समय खेर गइरहेको छ : उपेन्द्र यादव

शुक्रबार, १० मंसिर, २०७८
डिजिटल संस्करण
जनताले अनुभूत गर्ने गरी उपलब्धिलाई महसुस गराउने समय खेर गइरहेको छ : उपेन्द्र यादव

फाइल फोटो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिलाई जनताले अनुभूत गर्ने गरी महसुस गराउने समय खेर गइरहेको बताएका छन्। नेकपा एमालेको दशाैँ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

अध्यक्ष यादवले नेपाल ऐतिहासिक मोडमा उभिएको भन्दै नेपालको विविधतालाई एकतामा, एकतालाई विविधतामा बस्न सक्ने लोकतान्त्रिक संविधानको अभाव भएको बताए। ‘शान्ति, संघीयता सुशासन, आर्थिक समृद्धिको सामाजिक न्याय र  समाजवादको राष्ट्रिय लक्ष्य टाढिँदै गएको छ। ऐतिहासिक जनआन्दोलनहरू, ऐतिहासिक जनविद्रोहको आन्दोलनका उपलब्धिलाई जालझेल र छलछामबाट निकालेर जनताले अनुभूत गर्ने गरी ज्वलन्त तुल्याउने समय खेर गइरहेको छ,’ उनले भने, ‘अर्कोतिर लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुने गरी बलियो बनाउने राजनीति र राजनीतिक संस्कारलाई, शासन पद्धतिलाई जनहितमा एकलव्य हुने संस्कृतिबाट निर्देशित  सञ्चालित हुनुपर्ने, राष्ट्रिय एजेन्डा बनाउनुपर्ने अझै सकिएको छैन।’ 

त्यस्तै उनले लोकतान्त्रिक संस्थाहरू राज्यका अंगहरू पछिल्लो समय निष्क्रिय र निष्प्रभावी बन्दै आएको भन्दै चिन्ता व्यक्त गरे।  ‘यिनलाई सक्रिय र प्रभावकारी बनाउन अब ढिलो गर्नुहुँदैन। यी सबै कमी–कमजोरी हटाएर संंघीयता, लोकतन्त्र र समावेशितालाई आमजनताको हितमा सफल तुल्याउनुपरेको छ ।’

सुझावित समाचार