प्रधानन्यायाधीश जबराले तीन वर्षदेखि न्यायपालिकामाथि अन्याय गरे : बार अध्यक्ष श्रेष्ठ

सोमबार, ६ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीहरूलाई आग्रह गरेका छन्। सोमबार पनि सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले  प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीहरूलाई आग्रह गरेका हुन्। उनले प्रधानन्यायाधीश जबराले गरेको फैसलाहरूले विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै नेपाल बारले पनि प्रधानन्यायाधीशले गरेको फैसलाको अध्ययन र संकलन गरिरहेको बताए। 

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताको बीचमा पेस गरिने बताए। उनले न्यायालयमा विकृति र विसंगति भइरहेको भन्दै कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दासमेत राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको आरोप लगाए। 

अध्यक्ष श्रेष्ठले राज्यको महत्वपूर्ण अंगमा आएको समस्याबारे चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए। अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताए। उनले प्रधानन्यायाधीश जबराले धनाढ्यहरूको मुद्दामा मात्रै काम गरिरहेको, तर १५–१६ वर्षअघिका मुद्दा नहेरेको दाबीसमेत गरे।

सुझावित समाचार