एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेपाल सबै प्रकारका खेलकुद क्षेत्रको विकासका लागि अनुकूल भूगोल भएको मुलुक भएको बताएका छन्। ओलीले भूगोल, प्रकृतिअनुकूल भएकाले नेपालले खेलकुद क्षेत्रको विकासमा पछि पर्नुपर्ने कुनै कारण नरहेको बताए।
पार्टीनिकट नेपाल खेलकुद महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘खेल नीति सम्मेलन’ मा ओलीले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि अधिकतम अभ्यास गर्न पनि आग्रह गरे।
ओलीले एमालेले लिएको खेलकुद नीति सही, व्यावहारिक र उन्नतस्तरको हुनुपर्ने बताए। उनले एमालेले हरेक क्षेत्रको विकासका लागि सही नीति लिएको दाबी पनि गरे। उनले खेलाडीलाई अभ्यास खेलमा ध्यान दिन पनि आग्रह गरे।
ओलीले खेलकुद क्षेत्रका विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन पनि महासंघका पदाधिकारीहरूलाई निर्देशन दिए। उनले खेलाडीको मनोबल बढाउन पनि खेलकुद क्षेत्रका दर्शकको संख्या बढाउन जोड दिनुपर्ने बताए।