एमालेले दशौँ महाधिवेशनलाई मूलतः डिजिटलाइज्ड प्रणालीबाट सम्पन्न गर्ने गरी तयारी तीव्र पारेको छ । महाधिवेशनको प्रचार, उद्घाटन, प्रतिनिधिहरूको व्यवस्थापनसम्मका काम ‘डिजिटलाइज्ड सिस्टम’बाट सम्पन्न गर्ने गरी तयारीलाई तीव्रता दिएको हो । केन्द्रीय कार्यालयले महाधिवेशन प्रतिनिधिको विवरण संकलनसँगै प्रतिनिधिलाई सम्बन्धित स्थानबाटै परिचयपत्र बनाउने प्रयोजनका लागि अनलाइन फारम भराउने कामलाई तीव्रता दिइरहेको छ । सबै काम सकेर ५ मंसिरभित्र उनीहरूलाई कार्ड उपलब्ध गराइसक्ने तयारी छ ।
महाधिवेशनको लोगोसहितको परिचयपत्रमा क्युआर कोड उल्लेख गरेर प्रतिनिधिको व्यक्तिगत विवरण, प्रतिनिधित्व गर्ने क्षेत्र उल्लेख गरिनेछ । त्यही क्युआर कोडका आधारमा प्रतिनिधिलाई बन्दसत्रमा प्रवेश गराउनेदेखि खाना खुवाउने कुपनसमेतको प्रबन्ध हुनेछ । १० मंसिरमा अध्यक्ष केपी ओलीले ड्रोन उडाएर महाधिवेशनको उद्घाटन गर्ने र ड्रोनबाट महाधिवेशनको लोगो प्रदर्शन गराउने तयारी छ । त्यस्तै, महाधिवेशनस्थलआसपास नारायणघाट बजार, नारायणीपारि पूर्वी नवलपरासीको गैँडाकोटसम्म एलइडी स्क्रिनबाट महाधिवेशनको प्रत्यक्ष प्रसारण गराउने गरी व्यवस्थापकीय तयारी छ ।
प्रचार उपसमितिले बुधबारबाट नियमित रूपमा इ–बुलेटिन प्रकाशन गर्ने तयारी सुरु गरेको छ । ‘यसपटकको महाधिवेशनमा कतै पनि पोस्टरिङ, वाल पेन्टिङ हुँदैन, ठाउँ–ठाउँमा इलेक्ट्रिक होर्डिङ बोर्डसहितको प्रचार डिस्प्ले राख्ने तयारी छ,’ कार्यालय सचिव शेरबहादुर तामाङले भने, ‘सम्पूर्ण हिसाबले महाधिवेशनलाई डिजिटलाइज्ड गर्ने कोसिस चलिरहेको छ ।’
महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा दुईतले उद्घाटन मञ्च बनाउने तयारी छ । माथिल्लो तलामा अध्यक्ष ओलीसहित स्थायी समिति सदस्य र विदेशी पाहुना, तल्लो तलामा केन्द्रीय सदस्य, कलाकार, झाँकी–प्रदर्शनी रहने जनाइएको छ । ०७१ मा काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नवौँ महाधिवेशनबाटै एमालेले उद्घाटनसहितका धेरै काम ‘डिजिटलाइज्ड सिस्टम’बाट गर्ने प्रयास सुरु गरेको थियो ।
महाधिवेशनमा १६ सय ४९ जना निर्वाचित, दुई सय ६३ जना पदेन र मनोनीत ८७ जनासहित कुल एक हजार नौ सय ९९ जना प्रतिनिधि सहभागी हुँदै छन् । केन्द्रीय कमिटीका एक सय ९६ तथा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका ६७ जनाले पदेन प्रतिनिधिका रूपमा भाग लिँदै छन् । मनोनीतबाहेक सबैतिर प्रतिनिधि छनोटको काम सम्पन्न भएपछि धमाधम विवरण संकलनको काम भइरहेको केन्द्रीय कार्यालय सचिव तामाङले बताए । १६ सय ४९ जना निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि ९ मंसिरमा सौराहामा बस्ने केन्द्रीय कमिटी बैठकले मनोनीत गर्नेछ ।