प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेतृत्व चयन मात्रै गर्ने भएको छ। नीति तथा कार्यक्रम भने महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले अधिवेशन गरेर तय गर्ने निर्णय आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गरेको छ।
महाधिवेशनले अधिकार प्रत्यायोजन गरेर नयाँ कार्यसमितिले नीति र कार्यक्रमको सन्दर्भमा अधिवेशन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कांग्रेसले महाधिवेशनमा नेताहरू व्यवस्थापकीय जिम्मेवारी पनि तोकेको छ।
सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेन मूल तयारी समिति गठन भएको छ। जसमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, संघीय संसद्का सदस्यहरू, सातवटै प्रदेशका संसदीय दलका नेताहरू सदस्य रहेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ संकलन समिति गठन भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। भोजन तथा आवासको सन्दर्भमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, विदेशी पाहुना स्वागत तथा सत्कार समितिमा सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रचारप्रसार समितिमा प्रवक्ता शर्माले जिम्मा पाएका छन्।
यस्तै, उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समितिमा काठमाडौं जिल्लाका सभापतिलाई जिम्मा दिएको छ। जसमा ललितपुर र भक्तपुर जिल्लाका सभापति सदस्य रहनेछन्। स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङ र स्वयंसेवक मूल समितिको संयोजकमा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्के चयन भएका छन्। समितिका संयोजकले आवश्यकताअनुसार सदस्य चयन गर्न सक्ने अधिकार दिइएको शर्माले जानकारी दिए।