एमाले महाधिवेशनका लागि लमजुङमा दुई हजार पाँच सय एकजनाको जनपरिचालन कमिटी

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा एमाले लमजुङले आसन्न महाधिवेशनका लागि दुई हजार पाँच सय एकजनाको जनपरिचालन कमिटी बनाएको छ । जिल्ला कमिटी लमजुङको मंगलबार बसेको बैठकले जिल्ला अध्यक्ष धनञ्जय दवाडीको अध्यक्षतामा जनपरिचालन कमिटी बनाएको हो । महाधिवेशनकेन्द्रित जिल्ला कमिटीको मंगलबारको बैठकले चितवनमा हुने महाधिवेशनमा जिल्लाबाट उद्घाटनसत्रमा चार हजारजनाको सहभागिता हुने गरी योजना बनाएको छ । 

बैठकले महाधिवेशनका लागि सबै पालिकाबाट सहभागिता हुने गरी चार हजारजना लैजाने योजना बनाएको हो । नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने महाधिवशेनमा लमजुङबाट ११ जना प्रतिनिधि सहभागी हुने भएका छन् । खुलाबाट ६, महिलाबाट तीन र दलितबाट दुईजना प्रतिनिधि सहभागी हुने भएका छन् । ६ हजार चार सय ३२ जना पार्टी सदस्य रहेकामा एमालेको विधानअनुसार यत्तिका संख्यामा महाधिवेशन प्रतिनिधि छनोट हुने भएका हुन् । 

महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन तालिकासमेत एमालेले सार्वजनिक गरेको छ । जसमा मतदाता नामावली प्रकाशन कात्तिक २४ गते ११ बजेभित्र, निर्वाचन क्षेत्र छनोट सोही दिन ५ बजेसम्म, उम्मेदवारी दर्ता २५ गते १० बजेदेखि ५ बजेसम्म, उम्मेवारको नामावली प्रकाशन सोही दिन बेलुका ६ बजेसम्म, उम्मेदवारमाथि दाबी–विरोध २६ गते १० बजेसम्म, उम्मेदवारी फिर्ता सोही दिन दिनभर र प्रतिनिधि छनोट तथा घोषणा २७ गते हुने नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडीले बताए । प्रतिनिधि छनोटका लागि अधिवक्ता बुद्धिसागर बरालको संयोजकत्वमा ईश्वर पौडेल र विमल अधिकारी रहेको निर्वाचनमण्डलसमेत गठन गरिएको नेकपा एमाले जिल्ला कमिटीका सचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिए । 
 

See More On

सुझावित समाचार