धनकुटा । धनकुटामा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ। धनकुटासहित संखुवासभा र भोजपुर तीन जिल्ला कार्यक्षेत्र रहने गरी जिल्ला समन्वय समिति धनकुटाको भवनमा सो कार्यालय स्थापना गरिएको हो।
उक्त कार्यालयको जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठ र पूर्वाधार विकास डिभिजन कार्यालय धनकुटाका प्रमुख हुतराज चौहानले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। सो कार्यालयबाट स्थानीय पूर्वाधार विकास, सडक तथा पुल निर्माण र ग्रामीण क्षेत्रका पूर्वाधारसम्बन्धी काम हुनेछ।
सो कार्यालयमा एकजना कार्यालय सहयोगीसहित ११ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। गत असोज १३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत रहने गरी डिभिजन कार्यालय स्थापना गरिएको हो। कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख तामाङले कार्यालय स्थापना भएपछि जिल्लामा विकास निर्माणका कामले तीव्रता पाउने विश्वास व्यक्त गरे।
अधुरा र अपुरा सडकहरू निर्माण पूरा भएपश्चात् किसानले उत्पादन गरेको तरकारी तथा दुधजन्य वस्तु बिक्रीका लागि बजारसम्म पुर्याउन सहज हुने बताउँदै तामाङले धनकुटामा कार्यालय स्थापना भएसँगै छिमेकी जिल्ला संखुवासभा र भोजपुरका नागरिकहरूले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।
कार्यालय प्रमुख चौहानले जिल्लामा हुने विभिन्न विकास निर्माणलगायतका क्षेत्रमा कार्यालयले काम गर्ने बताए। सडक निर्माण नहुँदा स्थानीय नागरिकहरूले सास्ती खेप्दै आएको उल्लेख गर्दै चौहानले काम गर्नका लागि स्थानीय नागरिक, जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवालाको सहयोग आवश्यक पर्ने बताए।