रुपन्देही। यातायात व्यवस्था कार्यालय रुपन्देहीमा बिचौलियाका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो आएपछि मन्त्रालयको अगुवाइमा सातजना बिचौलियालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको छ।
मन्त्रालयले यातायात क्षेत्रसहित मातहतका सबै कार्यालयलाई बिचौलियामुक्त बनाउने अभियानलाई तीव्रता दिएको जनाएको छ। सबै क्षेत्रमा बिचौलियाको प्रभाव अन्त्य गरी सेवाग्राहीलाई सहज र पारदर्शी सेवा उपलब्ध गराउने अभियानमा दृढतापूर्वक लागेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयअन्तर्गतका केन्द्रीय विभागबाट प्रवाह हुने सेवामा कुनै समस्या नरहेको उल्लेख गर्दै प्रदेशमातहतका कार्यालयहरूमा पनि सोहीअनुसार सेवा प्रवाह हुनुपर्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र सवारी दर्तासम्बन्धी सेवालाई फेसलेस (प्रत्यक्ष सम्पर्कविहीन) बनाउँदै अधिकतम सेवा अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ। चालू आर्थिक वर्षको सुरुवातदेखि नै लाइसेन्स र सवारी दर्तासम्बन्धी सम्पूर्ण प्रक्रियालाई डिजिटल रूपमा अभिलेखीकरण गरिएको मन्त्रालयको भनाइ छ।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले मेडिकल जाँचका लागि आफूखुसी सेवा प्रदायक छनोट गर्न सक्नेछन् भने लाइसेन्स छपाइको अवस्थासमेत अनलाइनबाटै हेर्न सक्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले यातायातसम्बन्धी अधिकतम सेवा अनलाइनमार्फत उपलब्ध गराई सेवाग्राहीलाई सहज, सरल र पारदर्शी सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।