गल्दै गए चोलेन्द्र : सम्मानजनक निकासको प्रस्तावपछि न्यायाधीश वार्तामा, बार भन्छ–राजीनामा बटमलाइन

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

राजीनामा माग्दै नेपाल बार एसोसियसन आन्दोलनमा उत्रिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सहकर्मी न्यायाधीशहरूसमक्ष सम्मानजनक निकासको प्रस्ताव राखेका छन् ।  महाअभियोगको दबाब र बारले धर्ना थालेकै दिन जबराले न्यायाधीश मनोजकुमार शर्मामार्फत प्रस्ताव अघि सारेका हुन् । 

बार आक्रामक रूपमा संघर्षमा उत्रिएकै दिन जबराको प्रस्तावपछि न्यायाधीशहरू भने वार्तामा फर्किएका छन् । जबराले प्रस्ताव पठाएपछि असहयोगको नीति लिएका न्यायाधीशहरूले शर्मासहित अनिलकुमार सिन्हा र सपना प्रधान मल्ललाई प्रधानन्यायाधीशको प्रस्तावबारे बुझ्न जिम्मा दिएका छन् ।

समितिले प्रधानन्यायाधीशसँग छलफल गर्ने र सामूहिक छलफल गरेर आवश्यक निर्णय लिने सहमति न्यायाधीशको बैठकमा जुटेको छ । समितिले आइतबार साँझ जबरासँग सामान्य छलफल गरेको छ । सोमबार थप छलफल गरी अघि बढ्ने एक न्यायाधीशले बताए । ती न्यायाधीशले भने, ‘सम्माननीयज्यूको बर्हिगमनको विषय हामीले नै उठाएका थियौँ । उताबाट पनि त्यस्तै प्रस्ताव आएको छ । समितिले आज छलफल गरेको हो । सोमबार थप छलफल गरेर अगाडि बढ्छौँ ।’

एक हप्तादेखि प्रधानन्यायाधीशबाहेक अन्य न्यायाधीशको इजलास बस्न सकेको छैन । सर्वोच्चका न्यायाधीशसहित नेपाल बारले राजीनामा मागेपछि जबरा दबाबमा छन् । यद्यपि, उनले सडकबाट माग्दैमा पदबाट राजीनामा नदिने बताउँदै आएका छन् । 

इजलास प्रभावित
प्रधानन्यायाधीशलाई असहयोग गरिरहेका न्यायाधीशहरूले आइतबार पनि मुद्दा हेरेनन् । आइतबार पनि इजलास छाडेका न्यायाधीशहरूले अबेर तीनसदस्यीय समिति बनाए । समितिमा बिदा सकेर आइतबार मात्रै सर्वोच्च फर्किएका सिन्हा र मल्लसँगै जबराले सन्देश पठाएका शर्मा छन् । 

राजीनामा बटमलाइन : बार
जबराले राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बारले जनाएको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ भन्छन्, ‘हाम्रो आन्दोलनका कार्यक्रम निरन्तर नै रहनेछन् । बारले पहिलेदेखि नै न्यायालय सुधारको माग गरिरहेको थियो, राजीनामा बाध्य भएर माग्नुपरेको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘श्रीमानहरूले प्रधानन्यायाधीशसँग वार्ताका लागि पहल थाले पनि हामी हाम्रो मागमा अडिग छौँ । घटनाक्रमलाई हेरेर चरणबद्ध आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिन्छौँ ।’ बारले प्रधानन्यायाधीशको राजीनामा न्यायालय सुधारका लागि बटमलाइनको रूपमा अगाडि बढाएको उनी बताउँछन् ।

सुझावित समाचार