सिभिल सहकारीविरुद्ध शुक्रबारसम्म सिआइबीमा एक हजार १६७ ले जाहेरी दिएका छन् । जाहेरीमा उल्लेखित रकमको एकमुस्ट परिमाण चार अर्ब ६६ करोड १५ लाख ८२ हजार दुई सय छ ।
सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङसहित १२ विरुद्ध संगठित अपराधअन्तर्गत म्याद थप भई अनुसन्धान भइरहेको बताए । उनीहरूविरुद्ध सिआइबीले १८ दिनको म्याद थप गरेको छ । ‘पक्राउ परेकाविरुद्ध संगठित अपराधअन्तर्गत म्याद थप भई अनुसन्धान भइरहेको छ । शुक्रबारसम्म उनीहरूविरुद्ध ११ सय ६७ ले जाहेरी दिएका छन् । चार अर्ब ६६ करोड रुपैयाँ बिगो दाबी छ,’ सिआइबी प्रमुख सिंहले भने ।
तामाङले बिनाधितो सिभिल सहकारीबाट तीन कम्पनीको नाममा आठ अर्ब ऋण लिएर २१ कम्पनीमा लगानी गरेका छन् । सरदर एक करोड रुपैयाँका दरले सिभिल होम्सका ११ सय घर बेचे । यस आधारमा तामाङसँग न्यूनतम पनि १९ अर्ब सम्पति हुनु पर्ने हो । तर, अनुसन्धानबाट उनीसँग करिब साढे दुई अर्बको सम्पति मात्रै देखिएको छ । बाँकी सम्पति कहाँ छ ? प्रहरी खोजीमा जुटेको छ । सिआइबीले पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर, ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणअन्तर्गत रहेर अनुसन्धान अघि बढाएको छ । अभियुक्तले विदेशमा समेत रकम लुकाएर राखेको हुँदा त्यसतर्फ पनि अनुसन्धान अघि बढेको सिआइबी प्रमुख सिंहले बताए ।