स्कटल्यान्ड लगातार दोस्रो खेलमा विजयी

बुधबार, ३ कार्तिक, २०७८
डिजिटल संस्करण

स्कटल्यान्डले आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो चरणमा लगातार दोस्रो खेलमा जित निकालेको छ । मंगलबार ओमानको अल अमेरात मैदानमा स्कटल्यान्डले पहिलोपटक विश्वकप खेलिरहेको पपुवा न्युगिनीलाई १७ रनले हराएको हो । यसअघि स्कटल्यान्डले पहिलो खेलमा बंगलादेशलाई स्तब्ध पारेको थियो । समूह बीमा स्कटल्यान्डले चार अंक बटुलेको छ । 

स्कटल्यान्डले पहिलो ब्याटिङ गरी नौ विकेट गुमाएर एक सय ६५ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा पपुवा न्युगिनी १९.३ ओभरमा एक सय ४८ रनमै समेटियो । स्कटल्यान्डको जितमा दायाँ हाते फास्ट बलर जोस डाभेईले ३.३ ओभरमा १८ रन खर्चंदै चार विकेट लिएका थिए । ब्याटिङमा स्कटल्यान्डका लागि रिची वेरिङटनले सर्वाधिक ७० रन जोडे । उनी खेलकै म्यान अफ दी म्याच भए । 

 तेस्रो विकेटको महत्वपूर्ण साझेदारी
पहिलो ब्याटिङ गरेको स्कटल्यान्डको सुरुवात खराब रह्यो । स्कटल्यान्डले पहिलो दुई विकेट २६ रनमा गुमाएको थियो । त्यसपछि वेरिङटन र म्याथ्यु क्रसबीच तेस्रो विकेटका लागि ९२ रनको साझेदारी भयो । यी दुवैले स्कटल्यान्डलाई २६–२ बाट ११८–३ को बलियो अवस्थामा पुर्याए । म्याथ्यु र वेरिङटनले ३.४ देखि १४.३ ओभरसम्म साझेदारी गरेका थिए । म्याथ्युले आफ्नो विकेट अटललाई दिए । उनले ३६ बलमा समान दुई चौका र छक्का प्रहार गर्दै ४५ रनको योगदान दिए । बेरिङटन आउट हुँदा स्कटल्यान्ड १५३–५ को स्थितिमा रह्यो । उनले आप्mनो इनिङ्समा ६ चौका र तीन छक्का प्रहार गरेका थिए । 

 तीन ब्याट्सम्यानको शून्य रन
मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट योगदान दिएको स्कटल्यान्डको इनिङ्समा तीन खेलाडीले रन नै जोड्न सकेनन् । तीनजना ब्याट्सम्यान शून्य रनमै सीमित भए । मार्क वाट र जोसले सामना गरेको पहिलो बलमै आफ्नो विकेट गुमाए । इभान्स शून्य रनमै नटआउट रहे । यसबाहेक कालुम म्यालेडले १० रन तथा ओपनर जर्ज मुन्सेयले १० बलमा १५ रनको योगदान दिए । पपुवा न्युगिनीको बलिङ इनिङ्समा कावुआ मारेआले ३१ रनमा चार तथा चाद सोपेरले तीन विकेट लिन २४ रन खर्चेएका थिए । 

 पुछारका ब्याट्सम्यानको प्रयास
एक सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीका लागि शीर्ष चार ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । ओपनर उरा (२), लेगा सिआका (९), कप्तान आसाद भाला (१८) र चालेस अमिनीले (१) रन मात्र बटुले । सिमोनको विकेट गुमाउँदा पपुवा न्युगिनी ३५–५ को कमजोर अवस्थामा थियो । त्यसपछि सातौँ, आठौँ र नवौँ क्रमका ब्याट्सम्यानले आकर्षक स्ट्रोक लगाउँदा पपुवा न्युगिनीले स्कटल्यान्डलाई चुनौती दिन सफल भयो । नोर्मान भानुआले ३७ बलमा ४७ रन जोडे । उनले समान दुई चौका र छक्का प्रहार गरे । किप्लिनले ११ बलमा १८ रन तथा सोपेरले ११ बलमा १६ रन जोडे । जितसँगै स्कटल्यान्ड चार अंकका साथ शीर्ष स्थानमा छ । पपुवा न्युगिनीले दुई खेल नै गुमाएको छ । 

 श्रीलंकाको सहज जित
पहिलो चरणअन्तर्गत समूह एमा पूर्वविजेता श्रीलंकाले नामिबियामाथि सात विकेटको जित निकाल्न सफल भयो । पहिलो ब्याटिङ गरेको नामिबिया १९.३ ओभरमा ९३ रनमै अलआउट भयो । श्रीलंकाले १३.३ ओभरमा तीन विकेटको नोक्सानीमा एक सय रन जोड्दै जित हात पार्यो । श्रीलंकाले लक्ष्य पछ्याउँदा २६–३ को स्थितिमा आफूलाई पाएको थियो । त्यसपछि अभिस्का फर्नान्डो र भानुका राजापाक्षबीच चौथो विकेटका लागि ७४ रनको नटआउट साझेदारी सम्भव हुँदा श्रीलंकाले पहिलो चरणमा दुई अंक जोड्न सफल भयो । अभिस्काले २८ बलमा दुई छक्काको सहयोगमा ३० रन बनाए । राजापाक्षले २७ बल सामना गरी चार चौका र दुई छक्काको मद्दतमा ४२ रन बटुले । 

सुझावित समाचार