दसैँको मुखमा स्याङ्जा र कास्कीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ । कास्कीको कलडाँडा भिरको घुम्तीमा सोमबार दिउँसो भएको दुर्घटनामा परी आठजनाको ज्यान गुमेको छ। एकजना घाइते भएका छन्। ज्यान गुमाउनेमा जिपचालक अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री, जिपमा सवार काठमाडौं– ३ गंगबुका १८ वर्षीय जिनलव घिसिङ २४ वर्षीया सुजा चौधरी, काठमाडौं–२० वर्षीया लिजा चौधरी २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौं– ३ गंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। उनीहरूको शव पोस्टमार्टमका लागि सोमबार नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ।
उक्त दुर्घटनामा परी घाइते काठमाडौं–३ गंगबु की २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा सामान्य चोट लागेको छ। भिरमा अड्केको अवस्थामा उनलाई स्थानीय र प्रहरीले सकुसल उद्धार गरेका हुन्।
ज्यान गुमाउने विद्यार्थी
सोमबार कास्कीमा दुर्घटनामा परी ज्यान गुमाउने चालकबाहेक सबैजना विद्यार्थी रहेकाे प्रहरीले जनाएको छ। बिदाको अवसर पारेर आइतबार पोखरा घुम्न आएका उनीहरू सोमबार दिउँसो घान्द्रुकका लागि पोखराको हरिचोकबाट ग १ ज ६९०० नम्बरको जिप चढेका थिए। नयाँपुल हुँदै घान्द्रुकतर्फ जाने क्रममा दिउँसो करिब १:३० बजे दुर्घटनामा परी उनीहरूको ज्यान गुमेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सवास हमालले ज्यान गुमाउनेहरू विद्यार्थी भन्ने खुलेको तर कुन कलेज भन्ने नखुलेको जानकारी दिए । ‘काठमाडौंबाट घुम्न आएका विद्यार्थी रहेछन्, तर उनीहरूको सबै डिटेल भने प्राप्त भइसकेको छैन,’ घटनास्थल पुगेर साँझ फर्कँदै गरेका उनले नयाँ पत्रिकासँग भने।
दुर्घटनाको कारण जीर्ण सडक
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित कलडाँडा भिरमा सडक निकै बिग्रेको र उकालो र घुम्ती कटाउन लाग्दा जिप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता हमालले जानकारी दिए। ‘बाटो निकै खत्तम रहेछ। साह्रै बिग्रेको छ । उकालो र घुम्ती पनि भएको ठाउँमा जिप ब्याक भएछ र घुम्तीबाट खसेछ,’ हमालले घटनाबारे बताए। उनका अनुसार सडकको माथिल्लो घुम्तीबाट झन्डै २ सय मिटर तल सोही सडकमा जिप आइपुगेको छ।
स्याङ्जामा जिप दुर्घटना, तीनजनाको ज्यान गुम्यो, १४ जना घाइते
स्याङ्जामा भएको जिप दुर्घटनामा परी तीनजनाको ज्यान गुमेको छ । १४ जना घाइते भएका छन् । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी तीनजनाको ज्यान गुमेको हो।
ज्यान गुमाउने गल्याङ– १० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा, गाउँसौराकी चार वर्षीया बालिका करिस्मा थापा रहेका जिलला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार दलबहादुर र गंगाको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा र करिस्माको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमेको हो।
वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग १ज ४९१८ नम्बरको जिप कच्ची उकालो बाटोबाट आइतबार साँझ झन्डै ५० मिटर तल खसेको थियो। उक्त जिपमा चालकसहित १९ यात्रु थिए। चालकसहित अन्य दुईजना सामान्य उपचारपछि निको भएका छन् भने बाँकीको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ।