सल्यानमा जिपको ठक्करबाट दुईजना विद्यार्थीको ज्यान गएको छ । तीनजना घाइते भएका छन् । शुक्रबार बिहान जिपको ठक्करबाट गम्भीर घाइते भएका विद्यार्थी सल्यान शारदा नगरपालिका – ६ बरलाकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
दुवैजनाको राप्ती प्रादेशिक अस्पताल दाङ तुलसीपुरमा उपचारको क्रममा दिउँसो मृत्यु भएको उनले बताए । यस्तै, घाइते हुनेहरूमा शारदा नगरपालिका – ६ की १८ वर्षीया मीना परियार, १५ वर्षीया सुशीला नेपाली र १८ वर्षीया दीपा बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
घाइते तीनैजनाको उपचार नेपालगंजमा भइरहेको छ । बिहान बागचौरदेखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका –२ बांगेसल्लामा रुखको छहारीमा बसिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो । ओभर स्पिडका कारण विद्यार्थीलाई ठक्कर दिएर जिप सडकबाट १० मिटर तल खसेको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।