सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गर्दै नेकपा (एमाले) का दुई सांसदले दर्ता गराएको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । आइतबार न्यायाधीश मीरा खड्काको एकल इजलासले कारण देखाउ, अल्पकालीन अन्तरिम आदेश र अन्तरिम आदेशको छलफलका लागि बोलाउने आदेश गरेको हो ।
निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च पुगेका थिए । रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो ।