एमाले सरकारमा हुनु र नहुनुले देशमा धेरै फरक पार्छ : ओली

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमाले सरकारमा हुनु र नहुनुले देशलाई धेरै फरक पर्ने बताएका छन्। राष्ट्रिय युवा संघको भेलामा बोल्दै अध्यक्ष ओलीले विकास, राष्ट्रियतालगायतका विषयमा एमाले सरकारबाहिर रहँदा धेरै रूपमा असर परेको बताएका हुन्। 

‘एमाले सरकारमा हुनु र नहुनुले धेरै फरक पार्छ। विकासका विषयमा पर्छ, राष्ट्रियताको प्रश्नमा पर्छ,’ उनले भने, ‘तर, सरकारमा हुनु र नहुनुले एमालेप्रति जनताको आशा र विश्वासमा फरक पर्दैन। सरकारमा नहुँदा पनि उही विश्वास प्राप्त गर्छ एमालेको जनपक्षीय कामले, जनपक्षीय विधिहरूले।’

ओलीले जस्तोसुकै अवस्थामा पनि युवाहरूले हार मान्न नहुने बताए। युवाहरूले युग परिवर्तन गरेको इतिहास रहेको भन्दै उनले युवाकै अग्रसरतामा नेपालले पनि डिजिटल परिवर्तनमा फड्को मारेको बताए।

युवाहरूकै कारण आफ्नो सरकारको पालामा पहिलोपटक अन्तरिक्षमा स्याटेलाइट पठाउने, फाइबर बिच्छ्याउने, फोर–जी, नागरिक एपलगायतमा सफलता हासिल गरेको भन्दै उनले डिजिटल नेपालको अवधारणालाई साकार पार्न युवाहरूको उल्लेख्य भूमिका रहेको बताए।

सुझावित समाचार