एमसिसीबारे उठेका आशंकामा अमेरिकाले स्पष्ट पारेपछि प्रक्रिया अगाडि बढ्छ : कांग्रेस नेता महत

शनिबार, १९ भदौ, २०७८
डिजिटल संस्करण

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले एमसिसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले एमसिसी विभिन्न सरकारहरूको सहभागितामा टुंगो लागिसकेको विषय भएको भन्दै यसको सम्बन्धमा नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडि बढ्ने बताए । 

एमसिसी सैन्य प्रयोजनका लागि नभएको सम्झौतामा उल्लेख नै भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा ठेक्का प्रक्रिया अगाडि बढ्ने पनि उनले बताए । नेपाली जनतामाझ उठेका आशंकाहरूलाई स्पष्ट पार्न सरकारले अमेरिकी सरकारसमक्ष पहल गरिराखेको भन्दै उनले अमेरिकी सरकारले स्पष्ट पार्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘यो विषय कैयौँ सरकारहरूको सहभागितामा टुंगो लागेको विषय हो । हामी विदेशबाट ऋण पनि लिन्छौँ । ऋण लिएर पनि त्यही देशका ठेकेदार नै आउने प्रावधान छ । कामदार पनि आउँछन् । योचाहिँ अनुदानमा आएको आयोजना हो । हामीले प्राथमिकता तोकेको क्षेत्रमा पैसा आउँदै छ । अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दै छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएर ठेक्का प्रक्रिया अगाडि बढ्छ । सैन्य प्रयोजनका लागि यो पैसा प्रयोग गर्न पाइँदैन भन्ने उल्लेख नै छ । कतिपय विषयहरू यो छ कि भन्ने जुन पब्लिकमा उठेका छन् । त्यसबारेमा पनि क्लेरिफिकेसनका लागि सरकारले पहल गरिराखेको छ । त्यो स्पष्ट क्लेरिफिकेसन आएपछि यसले पनि एउटा ल्यान्डिङ गर्छ भन्नेकुरा मलाई लाग्दछ । पब्लिकमा यस्तो छ कि उस्तो छ भन्ने आशंका छ । धेरैले पढ्या छैनन् । प्रचार धेरै भएको छ । त्यस विषयमा अमेरिकी सरकारले अवश्य ती कुरा क्लेरिफाई गर्ला, पब्लिकमा यस्तो पो छ कि उस्तो पो छ भन्ने आशंका छ त्यो आशंका अवश्य पनि निवारण हुने काम सम्बन्धित पक्षबाट हुनेछ र प्रक्रिया अगाडि बढ्नेछ भन्ने मलाई लाग्छ ।’

महतले सत्तारुढ गठबन्धनका दलहरू नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै मन्त्रीको नाम पाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने पनि बताए । कांग्रेसभित्र भने मन्त्रीको विषयमा समस्या नरहेको र मन्त्रीको नाम तय भइसकेको उनको भनाइ छ ।

सुझावित समाचार