सुदूरपश्चिम प्रदेश सभामा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन्। उनीहरुले मंगलबार धनगढीस्थित निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्री मना साउद र चुनकुमारी चौधरी, संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, अमर साउद, कुलबीर चौधरी, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले समाजवादी रोजेका हुन्।
समाजवादीका केन्द्रीय सदस्यसमेत रहेकी कानुनमन्त्री जोशीले आफ्नो पार्टीमा कम्तीमा १४ जना सांसद रहने दावी गरेकी छन्। ‘केही साथीहरुको कागजी प्रक्रिया नपुगेकाले आज सनाखत हुन सकेन’, उनले भनिन्,‘उहाँहरू भोलि सनाखत गर्नु हुन्छ। प्रदेशमा हामी सबैभन्दा ठूलो दल बन्छौँ।’
भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी, संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र राज्यमन्त्री अर्चना गहतराजले पनि सनाखत गर्ने भनिए पनि अन्तिममा तीन जना निर्वाचन कार्यालय पुगेनन्। मन्त्री सोडारी सुरुबाटै समाजवादीमा लागेका छन्। तामाङले पनि आफू माधव नेपालकै पक्षमा रहेको यसअघि बताएका छन्। नेपाल पक्षमा खुलेरै लागेका मन्त्री सोडारी लामाङ र गहतराजसँगै सनाखत गर्नका लागि एक दिन पर्खेका हुन्।