नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मुखमा जिल्ला सभापतिहरूले सुरु गरेको रिले अनशनले दोस्रो दिन पनि निरन्तरता पाएको छ। बुधबारबाट सुरु भएको अनशनको दोस्रो दिन तनहुँ, सुर्खेत र डोल्पाका जिल्ला सभापतिसहित पाँचजना अनशन बसेका छन्।
बिहीबारको अनशनमा तनहुँ जिल्ला सभापति वैकुण्ठ न्यौपाने, सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी, डोल्पा जिल्ला सभापति अंगदकुमार बुढा, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्य र केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानका सदस्य प्रमोदहरि गुरागाईं सहभागी रहेका छन्।
बुधबार काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, धादिङ जिल्ला सभापति रमेश धमला, रञ्जित कर्ण र डिल्लीराम सुवेदी अनशनमा सहभागी बनेका थिए। क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिनुपर्नेलगायतका तीनबुँदे माग पूरा गराउन पार्टी केन्द्रीय कार्यालय सानेपामा संस्थापनइतरका जिल्ला सभापतिहरूले मंगलबार धर्ना र बुधबारबाट अनशन थालेका हुन्।
नुवाकोट जिल्ला सभापति केसीकाअनुसार माग सम्बोधनमा नेतृत्वले कुनै पहल गरेको छैन। माग पूरा नभएसम्म अनशन निरन्तर हुने केसीले नयाँ पत्रिकालाई जानकारी दिए।