उदयपुरमा फूल अभाव : प्लास्टिकका मालाको व्यापार बढ्दो

सोमबार, २३ कार्तिक, २०८३
डिजिटल संस्करण

उदयपुर । तिहारमा सयपत्री र मखमली फूलको माग बढे पनि स्थानीय उत्पादन पर्याप्त नहुँदा उदयपुरका बजारमा कृत्रिम प्लास्टिकका मालाको व्यापार बढेको छ । जिल्लामा व्यावसायिक फूलखेती घट्दै गएकाले तिहारका लागि आवश्यक फूलको माग पूरा गर्न कठिन भएपछि प्लास्टिकका मालाको व्यापार बढ्दो छ ।

स्थानीय बजारमा फूलको अभाव भएकाले उपभोक्ता महँगो मूल्यमा बाहिरबाट आयात गरिएका फूल किन्न वा प्लास्टिकका माला प्रयोग गर्न बाध्य छन् । कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जिल्लामा अहिले वार्षिक करिब १५ कट्ठा क्षेत्रफलमा मात्रै फूलखेती हुने गरेको छ । त्यसमध्ये कटारीस्थित नमुना माध्यमिक विद्यालयले मात्रै १० कट्ठामा फूलखेती गर्दै आएको छ । बाँकी पाँच कट्ठामा अन्य किसानले खेती गर्ने गरेका छन् ।

कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत महेशकुमार चौधरीका अनुसार जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको संख्या निकै कम छ । ‘विद्यालयले गरेको खेतीबाहेक अन्य स्थानमा पनि सीमित क्षेत्रफलमा मात्रै फूल उत्पादन हुने गरेको छ । जसको कारण बजारमा अभाव छ,’ उनले भने ।

नमुना माध्यमिक विद्यालय कटारीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराज दाहालका अनुसार यस वर्ष बालिविज्ञान अध्ययनरत विद्यार्थीले १० कट्ठामा सयपत्री फूलखेती गरेका थिए । उत्पादित फूलमध्ये हालसम्म पाँच सय किलो प्रतिकिलो ४५० रुपैयाँका दरले बिक्री भइसकेको छ । यसबाट विद्यालयले दुई लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ । ‘अहिले करिब ५० किलो फूल मात्रै बाँकी छ, त्यो पनि अर्डर भइसकेको छ । बजारको मागअनुसार फूल पुर्याउन सक्ने अवस्था छैन,’ दाहालले भने ।

जिल्लाका प्रमुख व्यापारिक केन्द्र गाईघाट र कटारीमा फूलको अभाव भएपछि कृत्रिम मालाको कारोबार बढेको छ । बाहिरबाट ल्याइएका प्राकृतिक फूलसमेत महँगो मूल्यमा बिक्री भइरहेका छन् । त्रियुगा नगरपालिका– ११, गाईघाटकी अस्मिता दाहालले प्रतिकिलो ६२५ रुपैयाँका दरले दुई किलो सयपत्री किनेको बताइन् । आवश्यकताअनुसार थप कृत्रिम माला पनि किनेको उनको भनाइ छ । ‘पूजाका लागि चाहिने सयपत्री र मखमली फूल पाउनै मुस्किल छ । गत वर्ष पनि यस्तै समस्या थियो, यसपालि पनि दोहोरियो,’ उनले भनिन् ।

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार विगतमा भारतीय फूल आयात हुँदा स्थानीय किसानले उचित मूल्य नपाएपछि फूलखेती छाड्दै गएका हुन् । यस वर्ष भारतीय फूलको आयातमा रोकावट भए पनि जिल्लामा स्थानीय उत्पादन बढ्न नसक्दा बजारमा अभाव भएको उनले बताए ।

‘स्थानीय किसानले उत्पादन गरेको फूलको बजार सुनिश्चित गर्न सके खेती विस्तार हुन सक्छ । सम्बन्धित निकायले उत्पादनको बजारीकरण र मूल्यको ग्यारेन्टी गर्ने व्यवस्था गर्नुपर्छ,’ श्रेष्ठले भने । स्थानीय उत्पादनलाई प्रोत्साहन र बजारको सुनिश्चितता गर्न नसके तिहारमा फूलका लागि बाह्य बजार र कृत्रिम मालामै निर्भर हुनुपर्ने अवस्था अझै रहने उनको भनाइ छ । 
 

सुझावित समाचार