छवि सुधार्न सामाजिक सञ्जाल प्रयोग गर्दै तालिबान

अफगानिस्तानको राष्ट्रिय बजेटको ७० प्रतिशत हिस्सा अनुदानमा निर्भर रहँदै आएकाले भावी दिनमा तालिबानलाई अन्तर्राष्ट्रिय दाताहरूका सामु सकारात्मक छवि निर्माण गर्नुपर्ने बाध्यता पनि छ

बिहिबार, १० भदौ, २०७८
डिजिटल संस्करण

अगस्ट १४ मा काबुल प्रवेश गर्नुअघि तालिबानआबद्ध एउटा म्यागजिनको ट्विटर एकाउन्टले तालिबान लडाकुबाट घेरिएका ६ जना त्रसित अफगान सैनिकको भिडियो पोस्ट गर्यो । पोस्टमा पस्तु भाषामा लेखिएको थियो, ‘मुजाहिदिनले सैनिकप्रति नरमपन देखाए पनि गाउँले बालबालिकाले उनीहरूलाई कुकुर भनेर गाली गर्दै ढुंगा हाने । तिनको अत्याचारविरुद्ध मानिसहरू आक्रोशित छन् ।’ सोही दिन तालिबानका एकजना प्रवक्ताले ट्विट गर्दै समूहले सम्पूर्ण कूटनीतिज्ञ, दूतावास र घरेलु तथा अन्तर्राष्ट्रिय गैर–नाफामूलक संस्थालाई ‘सुरक्षित वातावरण’ निर्माण गर्नेछ लेखे ।

महिनौँदेखि सामाजिक सञ्जालमा तालिबानले समूहको सबलता, संयम, हराउन नसकिने क्षमता र आफू नै वैध भएको सन्देश प्रवाहित गर्दै आएको थियो । कैयौँ सन्देश विश्व समुदायलाई प्रदर्शन गर्न राखे जस्तो देखिन्छ । युद्ध चर्केको समय उनीहरूले सरकारी सैनिकलाई इक्रिप्टेड एप्समा वा सीधै फोनमा म्यासेज पठाएका थिए । ती सन्देशमा तिनलाई भाडाको फौजका रूपमा चित्रित गर्दै आत्मसमर्पण गर्न आह्वान गरिएको हुन्थ्यो । अहिले अफगानिस्तान कब्जा गरेपछि उनीहरू अन्तर्राष्ट्रिय समुदायलाई आजको तालिबान २० वर्षअघिको भन्दा बदलिएको आश्वस्त पार्ने कोसिस गरिरहेका छन् । यसै कोसिसअन्तर्गत उनीहरू महिलालाई सरिया कानुनअन्तर्गत सम्मान गरिने बताइरहेका छन् । 

के साँच्चै तालिबान बदलिएका हुन् ? अरू कुरा भविष्यमा देखिएला, आफूलाई प्रस्तुत गर्ने विषयमा भने उनीहरू पक्कै पनि फेरिएका छन् । चर्चित चिनियाँ लेखक सन जुको युद्धबारे एउटा चर्चित भनाइ छ, ‘हरेक युद्धको हार–जित युद्धमैदानमा जानुअघि नै फैसला भइसकेको हुन्छ । शत्रुसँग नलडी तिनको क्षमतालाई कमजोर बनाउन सक्नु वास्तविक जित हो ।’ तालिबानले अफगानिस्तानमा अमेरिकी फौजविरुद्ध त्यही गरेका छन् । तालिबानले वर्षौंसम्म सामाजिक सञ्जाल तथा पर्चा पम्लेटमा आफूलाई अफगानिस्तानको असली उत्तराधिकारीको रूपमा दाबी गरिरहे ।

उनीहरू आफ्ना लडाकुलाई सहिद भन्थे भने अमेरिकालाई अतिक्रमणकारी र अफगान सरकारी फौजलाई विदेशी शक्तिको भाडाको सेना । तालिबानले सन् १९९० को दशकमै चर्चित भनाइ ‘अफगानिस्तान मुसलमान राष्ट्र हो र यसलाई गैरमुसलमानहरूले कब्जा गरेको छ र उनीहरूसँग लड्नेलाई अल्लाहको आशिष रहनेछ’ लाई उपयोग गरे । एउटा अफगान समूहले यस्तो दाबी गरिरहँदा अमेरिकाले के नै गर्न सक्थ्यो र ? तालिबानले मैदानमा परम्परागत युद्धको साथसाथै शत्रुको आत्मविश्वास कमजोर बनाउने मिडिया रणनीति पनि अवलम्बन गर्यो । तालिबानले देशभर प्रभाव फैलाइरहेको समयमा सरकारी फौजलाई आत्मसमर्पण या मृत्यु रोज्न आह्वान गर्दा दशौँ हजार फौजले आत्मसमर्पण रोजे । 

तालिबानले देशभर प्रभाव फैलाइरहेको समयमा सीधै सरकारी सैनिकका फोनमा आत्मसमर्पण या मृत्यु रोज्न म्यासेज पठाइरहेका थिए, दशौँ हजार सैनिकले यिनै सन्देशका कारण आत्मसमर्पण गरे  

स्थिति सधैँ यस्तो थिएन । विगतको तालिबान शासनमा उनीहरूले इन्टरनेट प्रयोगलाई बन्देज लगाएका थिए । तर, समूह अपदस्थ भएदेखि अफगानिस्तानले मिडिया क्षेत्रमा छलाङ मारेको छ । अहिले देशभर १०० भन्दा बढी रेडियो स्टेसन र दर्जनौँ टेलिभिजन स्टेसन सञ्चालनमा छन् । ७० प्रतिशत नागरिकसँग मोबाइल फोन छ र एकतिहाइ जनसंख्या सामाजिक सञ्जालमा जोडिएका छन् । तालिबानले यसलाई प्रयोग गर्न सकिने विश्लेषण गरे । यसमा उनीहरूले आइएसबाट पनि केही पाठ सिकेको हुुनुपर्छ । आइएस शक्तिशाली हुँदा उनीहरू सामाजिक सञ्जालको व्यापक उपयोग गर्थे, जहाँ आतंक र आत्मीयतालाई मिसाएर प्रस्तुत गरिन्थ्यो । तिनका वेबसाइटमा एकातर्फ शत्रुका डरलाग्दो शिरछेदनका भिडियो हुन्थ्यो भने आफ्ना लडाकुहरूबीचको मित्रता र उनीहरूले स्थानीयलाई सहयोग गरेका भिडियोहरू पनि राखिन्थे । तालिबानले आइएसजस्तो अन्तर्राष्ट्रिय जिहादको लक्ष्य बोकेको छैन तथापि, उनीहरूले आइएसको शैली उपयोगी पाए । 

सामाजिक सञ्जाललाई आफूप्रति सकारात्मक छवि निर्माण गर्न प्रयोग गरिरहे पनि तालिबानलाई फेसबुक तथा युट्युब कम्पनीले तिनका प्ल्याटफर्ममा प्रतिबन्ध लगाएका छन् । यद्यपि, उनीहरूले विभिन्न तरिकाले यस्तो प्रतिबन्धलाई बाइपास गर्ने उपाय निकालेका छन् । तालिबानलाई अन्तर्राष्ट्रिय दाताहरूका सामु सकारात्मक छवि निर्माण गर्नुपर्ने बाध्यता पनि छ । अफगानिस्तानको राष्ट्रिय बजेटको ७० प्रतिशत हिस्सा अनुदानमा निर्भर रहँदै आएको कुराले यसको संकेत गर्छ । तालिबानले अपनाएको कार्यशैली इतिहासमा धेरैपटक देखिइसकेको परिघटना हो : उनीहरू विद्रोही शक्तिबाट सत्तारूढ गठबन्धनमा संक्रमणको चरणमा छन् । तालिबानका प्रवक्ताहरूले ट्विट गर्दै सरकारी प्राविधिक तथा सरकारी कर्मचारीको संरक्षण गर्ने वाचा गरिरहेका छन् ।

अफगानिस्तानलाई तिनको खाँचो भएकाले काममा आउन आग्रह गरिरहेका छन् । तिनको ट्विटर एकाउन्टमा विद्यालय गइरहेका बालिका तथा घरबाहिरको काममा रहेका महिलाहरूको फोटो तथा भिडियो पोस्ट भइरहेका छन् । एकजना तालिबानका प्रवक्ताले ट्विट गरेको भिडियोमा एकजना बुर्का लगाइरहेकी अधबैँसे महिला ‘अहिलेको प्रणाली पहिलेको भन्दा राम्रो भएको’ भनिरहेकी सुनिन्छ । हालसम्मको गतिविधि हेर्दा तालिबानको मुख्य ध्यान गलत सूचना फैलाउनेभन्दा पनि समूहबारे सकारात्मक छवि फैलाउनेमा देखिन्छ । उनीहरू अहिले आफ्नो जितमा गर्व गर्ने र शत्रुलाई दुत्कार्नेमा केन्द्रित छन् । उनीहरू सायद देशको भाष्य बदल्न खोज्दै छन् । 

आगामी दिनमा तालिबानको व्यवहारप्रति अमेरिकाले कुनै प्रकारको भूमिका निभाउन सक्छ ? निश्चित रूपमा सक्छ । यदि तालिबानले महिलाहरूसँग मध्यकालीन बर्बर तरिकाले व्यवहार गर्न थाल्यो भने अमेरिकाले तिनलाई दस्तावेजमा राख्नुपर्छ । अमेरिकाले बालिका शिक्षाजस्ता मानवअधिकार कार्यान्वयन गर्न दबाब दिनुपर्छ । तर, अमेरिकाले विगतमा आइएससँग गरेजस्तै इस्लामको असल पक्ष पालना गरे–नगरेको विषयमा बहस गरेर बस्न हुँदैन । यो विषयमा हाम्रो त्यति कुशलता छैन ।

आगामी दिनमा पनि तालिबानले विश्वव्यापी एलिटहरूमा सकारात्मक छवि निर्माण गर्ने प्रयासलाई निरन्तरता दिनेछन् । आज पनि उनीहरू सभासमारोहमा भाग लिइरहेका छन्, विभिन्न राजधानी गएर सरकारी अधिकारी भेटिरहेका छन् । विदेशी मिडियामा लेख छाप्नेदेखि पत्रकार सम्मेलन आयोजना गरिरहेका छन् । पछिल्लो साता एकजना तालिबान प्रवक्ता अफगानिस्तानमा वाक–स्वतन्त्रताबारे गरिएको प्रश्नको जवाफ दिइरहेका थिए । उनको जवाफ थियो, ‘यो प्रश्न आफूलाई वाक–स्वतन्त्रताको प्रवद्र्धक ठान्नेहरूलाई सोध्नुपर्छ ।’ प्रश्न फेसबुकलाई सोध्नुपर्ने उनको जवाफ थियो । 

टाइम म्यागेजिनका पूर्वसम्पादक रिचर्ड स्टेन्गेल राष्ट्रपति बाराक ओबामाको शासनमा सार्वजनिक कूटनीतिक र सार्वजनिक मामिलाका लागि उपविदेशमन्त्री थिए । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार