बादलसहित पूर्वमाओवादीका नेताको जिम्मेवारी फेरिने
वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाउने निर्णायक कदम चालेपछि उनको समूहको प्रमुख माग सम्बोधन गर्दै एमाले तत्कालीन नेकपा एकीकरणअघिको संगठनात्मक संरचनामा फर्किएको छ । पार्टीको केन्द्रदेखि वडा तथा जनसंगठनका सबै तहलाई तीन वर्षअघिको संरचनामा फर्काउँदै एमालेले सबै नेता–कार्यकर्तालाई पुरानै जिम्मेवारीबाट क्रियाशील हुन मंगलबार निर्देशन दिएको छ, जब कि नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई वैधानिकता दिन आयोगले बुधबार सनाखत गर्दै छ ।
नेपाललाई छाडेर पार्टी एकता जोगाउन उभिएका स्थायी कमिटीका १० नेतासहितको एमाले स्थायी कमिटीको मंगलबारको संयुक्त बैठकले १०बुँदे सहमति कार्यान्वयन गर्ने प्रस्ताव पारित गरेको छ । निर्णयअनुसार नयाँ पार्टी दर्ता गर्ने प्रक्रियाबाट पछाडि फर्किने नेता–कार्यकर्ता सबैलाई पूर्वाग्रह नराखी पूर्ववत् जिम्मेवारी दिने पनि स्थायी कमिटीको निर्णय छ । निर्णयलाई लागू गराउन तलसम्म १०बुँदे सहमतिलाई समेत राखेर अन्तरपार्टी निर्देशन पठाउने एमालेको तयारी छ ।
‘पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटीलगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी तथा सदस्यहरूलाई २ जेठ ०७५ को पूर्वजिम्मेवारीबाट क्रियाशील हुन निर्देशन दिने तथा कार्यान्वयनका लागि १०बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा सर्कुलरमा प्रेषित गर्ने निर्णय गरिएको छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘स्थायी कमिटी बैठक पार्टी एकताको बैठकका रूपमा, पार्टी एकता सुदृढीकरणको विशेष बैठकका रूपमा सम्पन्न भएको छ ।’
तत्कालीन एमालेका साढे चार लाख संगठित सदस्य थिए । वरिष्ठ नेता नेपालले गठन गर्न लागेको नयाँ पार्टीमा कति सदस्य लाग्छन् अहिले यकिन भइसकेको छैन । तर, नयाँ पार्टीमा जानेबाहेक सबै तहका नेता–कार्यकर्तालाई नयाँ निर्णयअनुसार पूर्ववत् जिम्मेवारी दिइने एमाले नेताहरूको दाबी छ । तत्कालीन एमाले ब्युँतिएपछि वरिष्ठ नेता नेपालले विधि र पद्धतिका आधारमा नेता–कार्यकर्ताको जिम्मेवारी बाँडफाँड हुनुपर्ने प्रस्ताव राख्दै आएका थिए । त्यसका लागि २ जेठअघिको जिम्मेवारीमा पार्टी फर्किनुपर्ने नेपालको मुख्य मागमध्ये थियो । यो निर्णयलाई नेपाललाई साथ दिइरहेका नेताहरूले कार्यकर्ता अलमल्याउने जालझेल र षड्यन्त्रको संज्ञा दिए पनि एमाले नेताहरूले भने उनकै मुख्य माग सम्बोधन भएको दाबी गरेका छन् ।
स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेमा नेता–कार्यकर्ताले पूर्वावस्थाको जिम्मेवारी पाउनुपर्ने प्रमुख माग सम्बोधन भएको बताए । उनका अनुसार पार्टी एकताका क्रममा एमालेमै रहेका पूर्वमाओवादीका नेताहरूलाई सम्मानजनक रूपमा नयाँ जिम्मेवारी दिइनेछ । १०बुँदे सहमति कार्यान्वयनसँगै गत ५ पुसमा नेकपा विभाजनपछि ओली पक्षले खडा गरेको सांगठनिक संरचना र २३ फागुनमा एमाले ब्युँतिएयता गरिएको निर्णयहरू स्वतः खारेज भएकाले पूर्वमाओवादी समूहका नेताहरूलाई नयाँ जिम्मेवारी दिने सहमति बनेको उनको भनाइ छ ।
‘अब प्रदेश समन्वय कमिटीहरू पूर्ववत् रूपमा (एमाले कालको) संयोजक र सहसंयोजक रहेको संरचनामा फर्किन्छ, त्यसपछि आवश्यकताका आधारमा पार्टीले इन्चार्ज, सहइन्चार्ज राख्ने कि नराख्ने नयाँ निर्णय गर्छ,’ गुरुङले भने, ‘जिल्लाहरूको हकमा पनि पूर्ववत् संरचनाबाटै पार्टी क्रियाशील हुन्छ, तर विभाजनतिर लागेर रिक्त हुने स्थानमा नयाँ निर्णयहरू हुनेछन् ।’ एमालेको संस्थापन पक्षले पार्टी विभाजनपछि एमालेमा लागेका रामबहादुर थापा ‘बादल’लाई बागमती, लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाएको थियो । त्यस्तै, टोपबहादुर रायमाझीलाई मोर्चा फाँट इन्चार्ज, प्रभु शाहलाई प्रदेश २ को संयोजक तथा मणि थापालाई सांस्कृतिक फाँट इन्चार्ज बनाएको थियो ।
सचिव भीम आचार्यले १०बुँदे सहमति कार्यान्वयन गर्ने निर्णयसँगै नेकपाको विभाजन र एमाले ब्युँतिएपछि एकलौटी रूपमा गरिएका सबै निर्णयलाई प्रतिस्थापन गरेको बताए । ‘यसअघिका सबै निर्णय प्रतिस्थापित भएका छन्, अब आवश्यकताको सिद्धान्तअनुसार नयाँ निर्णयहरू हुनेछन्,’ उनले भने ।
त्यस्तै, १०बुँदे सहमतिअनुसार १० प्रतिशत नयाँ केन्द्रीय सदस्यहरू थपिनेछन् । केन्द्रीय सदस्य थप्न, केन्द्रीय निकाय र विभागलाई पूर्णता दिन तथा आवश्यकताअनुरूप पुनर्गठनका लागि स्थायी कमिटीले ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल तथा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य तोकिएका छन् ।
बैठकले २३ फागुनयता संस्थापन पक्षले गरेको एकलौटी निर्णय प्रतिस्थापन गर्दै महाधिवेशन तयारीसम्बन्धी सबै निर्णय फेरबदल गरेको छ । जसअनुसार यसअघि २७ र २८ भदौका लागि तोकिएको विधान महाधिवेशन असोजको ४, ५ र ६ गते गर्ने निर्णय गरिएको छ । त्यस्तै, आगामी ४ र ५ मंसिरका लागि तोकिएको दशौँ महाधिवेशन १०, ११ र १२ मंसिरमा गर्ने निर्णय स्थायी कमिटीले गरेको छ । असोज पहिलो साता तोकिएको वडा र पालिका तहको अधिवेशन ६ र ८ कात्तिकमा गर्ने निर्णय भएको छ ।
त्यस्तै, दशौँ महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशनको प्रतिनिधि छनोट पनि २ जेठ ०७५ सम्म कायम पार्टी सदस्यता नवीकरणलाई आधार मानेर गर्ने, तर त्यसयता थपिएका सदस्यहरूले महाधिवेशन प्रतिनिधिमा मतदान गर्न नपाउने मोटामोटी समझदारी भएको पनि गुरुङले जानकारी दिए ।
त्यस्तै, एकताको निर्णय सन्देश सम्प्रेषण गर्न १६ देखि २० भदौसम्म जिल्ला र जनसंगठनहरूको प्रशिक्षण भेला राख्ने, १० भदौमा केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने एमालेले निर्णय गरेको छ ।
विभाजनबाट मूल घरमा फर्किन आह्वान
एमालेले विभाजनको बाटोमा लागेका नेता–कार्यकर्तालाई मूल पार्टीमै रहेर एकताको पक्षमा उभिन आह्वान गरेको छ । त्यसरी फर्किनेलाई विनाभेदभाव पूर्ववत् जिम्मेवारी दिइने प्रवक्ता ज्ञवालीले बताए । ‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिरहेका कमरेडहरूलाई हामी आग्रह गर्छौँ– मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतीप्रति संवेदनशील रहँदै, पार्टीका अभिभाराहरूप्रति सचेत रहँदै, असफलता अवश्यंभावी रहेको त्यस्तो गलत र हानिकारक बाटो छोडेर पार्टी एकतामा आबद्ध हुनुहोस्, आफ्नो मूल घरमा फर्किनुहोस्,’ ज्ञवालीले भने, ‘विभाजनकारी गतिविधि र छुट्टै दल दर्ताबाट अलग भएर पार्टी एकतामा योगदान गर्नेहरूलाई पार्टीमा हार्दिक स्वागत गरिनेछ । यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने, भेदभाव वा कारबाही नहुने पनि स्पष्ट पार्न चाहन्छौँ । तसर्थ, पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता सदस्य, शुभेच्छुक र आमजनतालाई पार्टीको एकता र अग्रगतिका निम्ति आ–आफ्नो स्थानबाट योगदान पुर्याउन आग्रह गर्दछौँ ।’
तत्काल माधव नेपाल पार्टीमा फर्किने सम्भावना नदेखिए पनि उनले विभाजनको नेतृत्व लिनुका कारण भने समयक्रममा सार्वजनिक हुने दाबी पनि गरे । ‘माधव नेपाल तत्काल फर्किने सम्भावना छैन, तर हाम्रा हरप्रयासका बाबजुत उहाँहरू विभाजनको बाटोमा किन हिँड्नुभो, कुन तत्वले, कुन–कुन कुराले त्यसमा उत्प्रेरित ग¥यो समयक्रममा खुल्दै जाला,’ ज्ञवालीले भने, ‘माधव कमरेड विभाजनका लागि कृतसंकल्पित हुनुहुन्छ, निश्चित उद्देश्यका लागि आफूलाई किन समर्पित गर्नुभएको छ, समयक्रममा उजागर होला ।’
केपी ओलीले भने– उपयुक्त समयमा विभाजनको समीक्षा गर्छौँ
एमाले कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हो । स्थापनाकालदेखि अहिलेसम्म आइपुग्दा मूल धारका रूपमा एमालेले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँदै आएको छ । सात दशकको आन्दोलनमा विभिन्न कालखण्डमा दर्जनौँ साना समूहहरू आन्दोलनको मूल धारमा मिसिएका छन् । त्यही क्रममा एमाले बन्यो र माओवादीसँगको एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि बन्यो । नेकपाले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेर सरकार बनायो र धेरै राम्रो काम पनि गर्यो । तैपनि विभिन्न कारणले हामीले एकता जोगाउन सकेनौँ । यसबारेमा हामीले उपयुक्त समयमा पछि समीक्षा गर्नेछौँ । एमालेभित्र पनि अस्वस्थ किसिमका गतिविधि र समस्याले पार्टी विभाजनको स्थिति देखिएको छ, माधव नेपालको नेतृत्वमा एउटा समूह छुट्टिन खोजिरहेको छ । तैपनि हामी एकता जोगाउन दशबुँदे सहमति कार्यान्वयनका क्रममा अगाडि बढ्छौँ ।