मनाङका दुईवटा स्थानीय तहले विद्यार्थी नै नभएको विद्यालयमा करार शिक्षकसमेत नियुक्ति गरी लाखौँ रकम खर्च गरेको पाइएको छ। नार्पाभूमि गाउँपालिका र ङिस्याङ गाउँपालिकाले ११ जना शिक्षकलाई झन्डै ४८ लाख तलब–भत्ता वितरण गरेका हुन् ।
शुक्रबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नार्पाभूमि गाउँपालिका मनाङले फु आधारभूत विद्यालयका एक स्थायी र एक करार शिक्षकलाई १२ लाख ६५ हजार तलब वितरण गरेको छ। त्यस्तै, ङिस्याङ गाउँपालिकाले ङावल आधारभूत विद्यालयका आठजना शिक्षकलाई ३५ लाख ८६ हजार तलब र भत्ता दिइएको छ । जब कि यी दुवै विद्यालयमा एकजना पनि विद्यार्थी छैनन्।
शिक्षक र विद्यार्थीको अनुपात मिलाई विद्यालय व्यवस्थापन गर्नुपर्ने स्थानीय तहले उल्टै व्ययभार थपेको प्रतिवेदनमा औँल्याइएको छ। ‘विद्यार्थी नभएको विद्यालयमा करारमा समेत शिक्षक राखी व्ययभार थप्नु उचित देखिएन,’ प्रतिवेदनमा भनिएको छ।