अब के गर्छन् माधवको साथ छाडेका नेता ?

बिहिबार, ३ भदौ, २०७८
डिजिटल संस्करण

स्थायी कमिटीका नेता बैठकमा सहभागी हुने मुडमा 

नवौँ महाधिवेशनपछि पार्टीभित्रको अन्तर्संघर्षमा माधव नेपाललाई साथ दिँदै आएका स्थायी कमिटी सदस्यहरू अन्ततः एमालेभित्रै रहेर अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् । अहिलेसम्म उठाउँदै आएका एजेन्डाहरूलाई १०बुँदे सहमति कार्यान्वयनमा जोड दिएर अगाडि बढ्नका लागि उनीहरू ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाए सहभागी हुने मुडमा देखिएका छन् ।

‘हामी १० बुँदे सहमतिकै भोलिपल्ट संयुक्त बैठकमा सहभागी हुने तयारीमा थियौँ, तर माधव नेपालले एक दिन, दुई दिन सारौँ भन्दाभन्दै उहाँलाई पनि सँगै लिएर जाऊँ भन्दाभन्दै यहाँसम्म आइपुगेका हौँ । उहाँ नयाँ पार्टी गठन गर्ने स्थितिमा पुग्नुभयो । हामीचाहिँ स्थायी कमिटीको संयुक्त बैठक बसेर १० बुँदे सहमति कार्यान्वयनको दिशामा अगाडि जान्छौँ,’ भीम आचार्यले भने । 

नेपाल समूहमा रहेका १२ स्थायी कमिटी सदस्यमध्ये नौजनाले साथ छाडेका छन् । युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र अमृतकुमार बोहराले नेपालको साथ छाडेका छन् । त्यस्तै, उपाध्यक्ष वामदेव गौतमले पनि नयाँ पार्टी गठनमा हस्ताक्षर गरेका छैनन् भने वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पोजिसन स्पष्ट पारिसकेका छैनन् । पार्टीभित्रै अन्तर्संघर्ष गर्ने लाइनमा यसअघि नेपाललाई साथ दिँदै आएका स्थायी कमिटी सदस्यसहित करिब ३५ केन्द्रीय नेताहरू रहेका छन् । यो संख्या बढ्दै जाने र नेपालाई साथ दिँदै आएका बहुमत केन्द्रीय सदस्य विभाजनको विपक्षमा उभिने केन्द्रीय सदस्य ठाकुर गैरेले दाबी गरे । 

उता, नयाँ पार्टी गठन भइसके पनि उपमहासचिव भुसालले बुधबार अध्यक्ष ओलीलाई भेटेर नेपालसहितको सहमतिको वातावरण बनाउन आग्रह गरेका छन् । तर, नेपालमाथि कारबाही भएकाले उनीसहितको एकताको च्याप्टर क्लोज भइसकेको भन्दै १० बुँदे सहमति कार्यान्वयन सुनिश्चित गरिने भन्दै पार्टीमा फर्किएर क्रियाशील हुन आग्रह गरेको स्रोतले जनाएको छ । 
 

See More On

सुझावित समाचार